ओझेलमा परेको बाच्छागाउँ

बाँछा गाविस पवर्त जिल्लाको दक्षिणी भागमा पर्ने एक विचित्रको गाउँ हो। यहाँ बस्ने मानिसहरू तत्कालीन समयमा रोजगारीका लागि विदेश भारतमा जाने विशेषगरी गुरुङ सम्प्रदायमात्र थिए। उनीहरू फौज तथा भर्तीमा जान्थे भने क्षेत्री, ब्राहृमण र अन्य जाति त्यहाँको कम्पनीमा बाहिरी चौकीदारसमेतका रोजगार गरेर आफ्नो परिवारको खर्चयापन गरेको पाइन्छ। यहाँ ब्राहृमण, क्षेत्री, गुरुङ, मगर, दलितको बढी बसोबास छ। यसमध्ये तल्लो बाच्छा र उपल्लो बाच्छा भनेर चिनिने यस गाविसमा उपल्लो बान्छामा अधिकांश गुरुङ सम्प्रदाय र तल्लो बाच्छाम क्षत्री, बाहुनलगायतको बसोबास थियो। क्रमशः उपल्लो भेगमा बस्ने समुदायले तल्लो भेग (फाँट) मा बस्नेहरूको खेत किनेर तल्लो बाच्छामा सर्दै आएको समुदाय हाल बसाइँसराइको क्रममा चितवन, पोखरा, काठमाडौ, बुटवललगायतका सहरमा गएको पाइन्छ।

बाच्छाको विशेषता भनेको यस क्षेत्रको बाच्छाखोलाबाट बाँध गरी लगेको कुलो -नहर)ले तल्लो बाच्छाको फाँट धेरै हराभर बनाइराख्ने धान, गहुँ, मकै, फापर, तोरी गह्रामा र आलीमा भट्टमासको हराभरा खेती गरिन्छ। यसबाट यो गाउँमा थोरै जमिन हुनेहरू पनि आफूलाई आवश्यक पर्ने खाद्यान्नमा करिब आत्मनिर्भर भएको पाइन्छ। यहाँ उपल्लो बाच्छामा सुन्तला खेती राम्रो थियो। तल्लो बाच्छाका मानिसले उपल्लो बाच्छाको मकै, आलु, कोदो, फापरलगायतका खाद्यान्न रसिलो भएकाले खाद्यान्न सट्टीपट्टी पनि हुने गर्दथ्यो।

यो क्रम अद्यापि छँदाछँदै पनि परिवर्तनको क्रममा बसाइँसराइ बढ्दै जाँदा उपल्लो बाच्छाका केही घर रित्ता हुँदै गएको पाइन्छ। तथापि जो जहाँ बसे पनि बाच्छाका विशेषता बिसर्न गाह्रो नपर्ने खालका छन्। जस्तै ः फाँटलाई पुग्ने ठूलो कुलो गाउँको पुच्छारमा कृष्णनदी गोर्ल्याङको ठूलो जंगल र सो जंगलसागै रहेको बसाहा देवता यी चार प्राकृतिक भन्नेले बाच्छा छाडेर अन्यत्र बसाइँ गए पनि बाच्छालीका मनमा अविष्मरणीय छाप रहेको पाइन्छ। यहाँ वन, जंगल प्रशस्त हुनाले विशेषगरी गाईभैंसी र बाख्रापालनका लागि आफ्नै जमिन जंगल हुनुपर्छ भन्ने छैन। सार्वजनिक स्थानको भरले मात्र पनि यिनीहरूको पालताल सम्भव छ। यस गाउँको तुलनामा दायाँबायाँमाथिका गाउँ पाङराङ, बिहादी र भोकसिं जस्ता गाउँले लोभिन्छन्। अकोर्तर्फ हिउँदमा तल्लो बाच्छाको उब्जाउ देखेर उपल्लो बाच्छामा बसोबास गर्नेहरू लोभिन्थे। एउटै गाउँ भएता पनि भेषषूषा र आहार बिहारमा केही फरक थियो। जाडोमा बस्नेले सोही अनुसारको पोशाक, खाना र फाँटमा बस्नेले सोहीअनुसारको भिन्नता छ। तथापि तल्लो उपल्लो भेगको समुदायबीच सौहाद्रता बलियो छ।

यहाँ सुरुमा शिक्षाका लागि भारतीय सैनिकको अंक, अक्षर चिनाचन चौतारी स्याउला खरका छाप्रामा रहेर काठाको पाटी, ढुंगाको सिलट खरीबाट सुरु भएकोमा अहिले १२ कक्षासम्म विद्यालय सञ्चालनमा आएको छ। हाल कुस्मा, सेदीवेनीसम्मको यातायातले पनि यो क्षेत्रको भावनात्मक परिवर्तन ल्याएको छ। यहाँ बस्ने गाउँलेमध्ये अधिकांश रोजगारी गाउँमा तथा विदेशमा रहेर आयआर्जन गर्दछन्। अहिले अन्य ठाउँमा सिँचाइ भएता पनि तुलनात्मक रुपमा बाच्छा गाविसको उर्वर माटोले बढी प्राथमिकता पाएको छ।

यसको उन्नतिका लागि विशेष गरेर कालीगंगामा र्‍याफ्टिङ, गोर्ल्याङमा टे्रकिङ र मनोहर जंगलबीचमा गाउँको शिरमा रहेर बसाहा देवताको मन्दिरको मनोरम देशी, विदेशी पर्यटकको मन लोभ्याउन सक्छ। यसका लागि गाउँ र सरकार एवं संघ, संस्थाको ध्यानाकर्षण भयो भने एकातर्फ गाउँको स्तरोन्नति हुने र अकोर्तर्फ पर्यटकको इच्छा बढ्ने सम्भावना प्रवल देखिन्छ। अचम्मलाग्दो प्राकृतिक दृश्य हेर्नलाई उपल्लो बाच्छाको सौर्न्दर्य, जंगली जन्तुको अवलोकन गर्नुका साथै वातावरण जान्न र देख्नलायक छ। हामी बाच्छाबासी जो जहाँ भए पनि संघ, संस्थाको पहुँचभन्दा पर रहेर ओझेलमा परेको यस क्षेत्रमा जान पवर्त सदरमुकाम कुस्माबाट कच्ची बाटोमा गाडीमा करिब तीन घण्टा लाग्छ।

यस क्षेत्रबाट राज्यलाई चाहिने जनशक्तिमध्ये शिक्षा, स्वास्थ्य, न्याय, प्रशासन, इञ्जिनियरीङ, सैनिकसमेतका अंगमा राम्रो तहमा रही काम गरेका व्यक्ति भएता पनि गाउँमा बस्न आवश्यक सुविधाको अभावमा काठमाडौ, पोखरा जस्ता सम्पन्न सहरमा बस्ने भएका हुँदा यस गाविस अहिलेसम्म छायाँमा पर्न गएको छ।

अन्त्यमा, यस गाउँका बासिन्दाले पर्यटकीय क्षेत्रको लागि माग गर्दै संघ, संस्था, सरकार र जनसहभागिताको आड लिई गाउँमा जाने बस्नेलाई एक-दुर्इ सुविधायुक्त होटल खोलेर, होमस्टे चलाएर यसको पहुँच सदरमुकाम कुस्मा र पोखरामा ल्याउन सकियो भने कास्कीको घान्द्रुक गाविसभन्दा बढी आकर्षणको स्थल बन्ने सम्भावना छ।

त्यस कारण बाच्छालीहरू जो-जहाँ भए पनि आफ्नो गाउँको विकासका लागि जे सकिन्छ, जति सकिन्छ, सहयोग र सद्भाव बढाउँदै जान जरुरी छ। यसको उदाहरण ५० औं वर्ष काठमाडौंमा बसेर पारिवारीक जीवन बिताएका महानुभावले आफ्नो छोराको नाम नै बाच्छाली भनेर बोलाउनुले जन्मस्थानको स्मृतिमात्र नभएर गाउँको नाम पनि ताजा रहोस् भन्ने जनाउँछ।

(लेखक अधिवक्ता हुन्। सं.)

- डण्डपाणि आचार्य