उहिलेको पोखरा सम्झँदा

मेरो पहिलो स्कूल प्रवेश संभवतः २०१४ सालको अन्तिम महिनातिर हुनुपर्दछ। घरमा नै अध्ययन गरेपछि कक्षा ४ मा भर्ना गर्न पिताजीले, नदीपुर पाटन लिएर जानुभएको स्मरण छ : जहाँ आज कन्या स्कूल र कन्या क्याम्पस ठडिएको छ, त्यहीँ बाँसका भाटाहरूले बारेर चिटिक्क पारेको खरको छाना एल आकारको छाप्रो मुनी कक्षाहरू संचालन गरिन्थे।

पहिलो पटक स्कूल प्रवेश गर्ने बेलामा एउटा डर, उत्सुकता संगै रोमान्चको अनुभूति भएको थियो त्यही डरबाट मुक्त गर्न, स्कूलमा भर्ना गरेपछि अरु विद्यार्थीहरू पढेको ठाउँ देखाउँन लैजाने पहिलो शिक्षक हुनुहुन्थ्यो स्वर्गीय श्री घनश्यम मसााी। स्थानीय व्यक्तिको नाता र कक्षा ४ को शिक्षकका नाताले श्री धनश्यम सरलाई जिम्मा लगाउँदा पिताजीले पनि सहजता अनुभव गरी तुरुन्तै स्कूलबाट र्फकनु भएको थियो।

प्रातः स्मरणीय पिताजी स्व. प्रेमराज मुल्मी परिवारका प्रत्येक व्यक्ति र अन्यलाई शिक्षित बनाउने लक्ष्य सहित नै सामाजिक कार्यकर्ताको रुपमा स्थापित व्यक्तित्व भइसक्नु भएको थियो। पिताजी स्वंयले पनि २ हजार साल तिर काठमाडौंमा रहेको नेपालको सवैभन्दा अग्रणी स्कूल जुद्धोदय हाइस्कूलमा शिक्षा ग्रहण गर्नु भएको थियो। त्यसबेलाको शैक्षिक योग्यताले गर्दा पिताजी पोखराको मात्र नभएर त्यसबेलाको पश्चिम ३ नं. क्षेत्रको एउटा सशक्त राजनैतिक र सामजिक व्यक्तित्व हुनुहुन्थ्यो।

कास्कीमा नेपाली कांग्रेस पार्टीलार्इ स्थापना गर्ने कुरामा होस् वा २००६ सालको पोखरा आगलागी हुँदा सरकारले मुआव्जा दिन बनाएको समिति होस २००८ सालमा पोखरा व्यापार संघ स्थापना गर्ने कुरा होस वा माथि उल्लेख गरेझैं’ नदीपुरमा पहिलो स्कूल स्थपना गर्न होस, २००८ सालमा पोखरा हवाइजहाज ओराल्नका लागि ठाउँ खोजी गर्ने काम होस् वा सरकारी काममा आउने व्यक्तिलई बस्न ठाउँ दिने कुरा होस, पिताजीको अग्रसरता र भूमिका अपरिहार्य जस्तै थियो।

त्यसमाथि काठमाडौंमा छापिने पत्रिका वा हिन्दुस्तानबाट आउने पत्रपत्रिका सवैभन्दा पहिले पिताजी कहाँ नै आइपुग्थे। त्यो हेर्नका लागि र पढ्नका लागि घरमा थुप्रै मानिसहरूको उपस्थिति हुने गरेको संम्झन्छु। पोखरामा ल्याइएको पहिलो २ ओटा रेडियोमध्ये एउटा पिताजीले कलकत्ताबाट ल्याउनु भएको र त्यो रेडियो हेर्न र सुन्नका लागि पनि ठूलो उपस्थिति हुन्थ्यो। राणाकालीन समय देखि २०१७ साल सम्म हाम्रो घर राजनैतिक र सामाजिक कार्यको लागि अनौपचारिक कार्यालय जस्तै हुने गरेको त्यसताकाका भद्र महिला तथा सज्जनहरू अझै पनि सम्झन्छन्। पहिलेका मानिसहरू भन्दथे प्रेमराज मुल्मीको घर सवैको भेट्ने ठाउँ थियो

नदीपुरपाटन त्यसताका ठूलो पाटन नै थियो। बीचमा एउटा पोखरी पनि थियो। सिमलका अग्ला रुखहरू र काँडाफूलहरू जताततै थियो पूर्वपट्टिभिरालो भएर हालको नारायणथान मन्दिर र एउटा पाटी थियो। त्यो सार्वजनिक पाटी अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा गनिन्थ्यो। हाल पाटीको अस्तित्व छैन। तर सेती विद्युतगृहको मूलढोकाको अलिकति तल दक्षिण पश्चिम स्थानमा  थियो।

त्यो सार्वजनिक पाटी राजनैतिक छलफल गर्ने स्थानको रुपमा पनि चिनिन्थ्यो। पोखरामा पहिलो रात्रि पाठशाला संचालन गर्ने कामको शुरुवात पनि त्यहीँबाट भएको थियो। नारायणस्थानबाट बजारतर्फ आउने डहर हालको बुद्धविहार भएर तेसापट्टी सम्म आउथ्यो। भने अर्को डहर साँगुमुख जाने थियो। नदीपुरपाटनको त्यो पहिलो स्कूलमा पढ्न जान ती डहरहरू नै प्रयोग गरिन्थ्यो भने पश्चिम पट्टिभिमसेन टोल।

भैरवटोल मोहरिया जानका लागि २ ओटा डहरहरू थिए। एउटा हालको कन्याक्याम्पस अगाडिको पिचबाटो अर्को बालमन्दिर अगाडि को पिचबाटो उत्तर तर्फ सेती नदीको घाट जानका लािग सानो गोरेटो बाटो थियो भने अर्को डहर मोहरिया टोलबाट हालको नगरप्रशिक्षण केन्द्र ढोका अगाडि निस्केर ओरालो लाग्दै सेती नदी जाने गोरेटो जुन अहिले पनि विद्यमान छ। त्यही दोबाटोमा असाध्य ठूलो सिमलको रुख र ढुंगाको ओडार पनि थियो जुन हाल अस्तित्वमा छैन।

यो ठाउँमा र्सूय अस्तइसकेपछि विरलै मानिसहरू हिड्ने गर्दथे। किनभने साँझतिर त्यही सिमलरुख र ओडारमा बोक्सीहरूपूजा गर्न आउँछन् किचकन्नी भेटिन्छ, भुतपिशाचले तर्साउछ भन्नेकुरा निकै चर्चित थियो। त्यहाँ भन्दा माथि सवै खरबारीहरूको फाँट नै थियो।

हालको बालमन्दिरबाट ज्ञानभूमि विद्यालयको तलसम्म नै पूरा पाटन थियो बजारका मानिसहरूको लागि खेल्ने ठाउँ थियो। यही डहरको बाटो बुद्ध विहार हुँदै तेर्सापट्टि चोक निस्कने बाटोको दायँाबायाँ सबै घरहरू कारखानाको रुपमा थियो। तामा, पित्तल, काँसका विभिन्न किसिमका सामानहरू बनाउने गरिन्थ्यो यस ठाउँमा उत्पादन भएका ती तामा पित्तल काँसका भाँडाकुँडा थाल, कचौरा लगायत अन्य सामग्री पोखराभन्दा बाहिर टाढा बागलुङ, स्याङ्जा, लमजुङ, गोरखासम्म बिक्री गरिन्थ्यो। दिनरात त्यो बाटोबाट हिँड्नेहरूले कलात्मक आवाज सुन्न पाउँदा छुट्टै अनुभूति गर्दथे।

यस्तै कारखानाहरू नदीपुर पाटनबाट साँगुमुख निस्कने गोरेटो जसलाई अहिले ज्ञानमार्ग भनिन्छ बायाँ पट्टिका सबै घरहरूमा थिए भने दायाँ पट्टि माछा मार्ने पेशा भएका जलाहारीहरूको बस्ती थियो। तिनीहरूका घरहरूमा जालहरू बुन्ने काम र तयारी जालहरू सजाएर राखेको सुन्दर दृश्यहरू देख्न पाइन्थ्यो। त्यो क्षेत्रमा भएको पाटनले गर्दा पहिलो स्कूल त्यही खोलिएको हुनाले कालान्तरमा कन्या स्कूल, ज्ञानभूमि स्कूल, बालमन्दिर र कन्या क्याम्पसहरू खोलिए र स्थापना भएको पहिलो स्कूल जसलाई नेशनल हाइस्कूल भनिन्थ्यो, कोठा कमी हुन गयो, विद्यार्थीहरू बढ्दै गएकोले ठूलो ठाउँमा ठूलो विद्यालय भवनको आवश्यकता महसुस भएको हुनाले त्यसताकाको अर्को ठूलो चौर हाल टुँडिखेल जहाँ राष्ट्रिय मा.वि. रहेको छ त्यहाँ भवन निर्माण गरी सारियो।

त्यसताका नेशनल हाइस्कुललाई भोकेशनल स्कूलको रुपमा परिवर्तन गरी धेरै विद्यार्थीहरूलाई पढ्ने अवसर दिन र व्यवहारिक ज्ञान दिनका लागि अमेरिकी सरकारले पहिलो पटक सम्पूर्ण आफ्नो खर्चमा निर्माण गरिदिएको हो। स्कूलको डिजाइन देखि फर्निचर टेबल कुर्चीसम्म अमेरिकी सामग्रीको प्रयोग भएको थियो। कृषि तालिम, सिकर्मी तालिम, सिलाई बुनाइ तालिम, विजुली फिटिङ, टाइपिङ, सचिवालय शिक्षा जस्ता विषयहरू सहित स्कूल शिक्षा दिनका लागि नेपालको पहिलो नेशनल भोकेशनल स्कूलको रुपमा परिणत गरिएको थियो। त्यस स्कूलको लागि टेबुल कुर्चीहरू काठमाडौंबाट पोखरा हवाइजहाजमा ल्याइएको थियो र एअरपोर्टबाट स्कूलसम्म त्यहाँ पढ्ने विद्यार्थीहरू र शिक्षकहरूले आफ्नो काँधमा बोकेर पुर्‍याइएको थियो।

त्यो नयाँ भवनमा सबैभन्दा राम्रो पुस्तकालयमा पढ्नको लागि बनाइएको ठूलो कोठा र त्यहाँ राखिएका विदेशी पुस्तकहरू, नक्साहरू, विज्ञानका सामग्रीहरू थिए। त्यसताका सबैभन्दा बढी अटाउने कोठा (लगभग ४ सय ५ सय जना) भएकोले पोखरामा हुने ठूलो र महत्वपूर्ण कार्यक्रमहरू त्यही पुस्तकालयमा हुन्थ्यो । त्यसताका त्यो नयाँ स्कूलसँगै विदेशीले बनाइदिएको साइनिङ अस्पताल पनि भएको हुनाले टुँडिखेल क्षेत्र ठूलो चहलपहल हुने केन्द्र थियो। त्यस विद्यालयको उत्तरतर्फ को क्षेत्रबाट बागलुङ, टुकुचे, मुस्ताङ जाने लाहाचोक, ल्वाङघलेल मिसाघान्द्रुक लुम्ले, धम्पुस जाने गोरेटो बाटो यहीबाट जाने भएकोले ठ्याक्कै सिमपानी चोकमा ठूलो वरपिपल सहितको चौतारो थियो। सिम्पानीमा चिसो मूलको पानी पिउने व्यवस्था थियो।

नजिकै याम्दी खोलाको छेउमा थाक्सेपानी थियो जहाँ बस्न खानको लागि बास पाइन्थ्यो। त्यही बाटो भएर खच्चड, घोडा, गधा मार्फत् मालसामान बोक्ने, अवस्था र चलन भएको भदा थाक्सेपानीमा खुलाफाँट भएको हुनाले वास बस्ने उपयुक्त ठाउँ थियो।

टुँडिखेलको नेशनल हाइस्कूल जसको नाम पछि मल्टिपपस नेशनल हाइस्कूल रहन गयो, मा पढुन्जेल दिउँसो १/२ घण्टाको हाफटाइम बेहोरेका थियौँ। त्यही अवधिमा मिरुवादेखि सिमपानीसम्म भिर र जंगल नै थियो त्यहीँ काफल पानी अमला, एसेलु, टिप्न र खान जान्थ्यौ र चिसो पानी खाएर र्फकन्थ्यौ ती दिनहरू असाध्य रमाइला दिनहरू थिए।

सिम्पानीको चौतारामा थकाइमार्न बस्दा त्यहाँबाट देखिने सेती नदी दायाँ बायाँका समथर फाँटहरू त्यही गोरेटो बाटोबाट हिँडडुल गर्ने बटुवाहरू भारी बोकेर अवात जावत गर्ने गधा खच्चरहरूको लस्कर हेरिरहुँ जस्तो लाग्दथ्यो। यसरी नै स्कूलमा ६ वर्ष पूरा बिताइयो र कक्षमा सबैभन्दा सानेा र कान्छो विद्यार्थी भएको नाताले आफूभन्दा अग्ला र उमेरले ठूला विद्यार्थीहरूबाट जहिले पनि माया पाउँदा रमइलो लाग्दथ्यो।

त्यसताका बाटुलेचौर, चमेरेगुफा र सुन्तला प्रशस्त पाइने ठाउँको रुपमा प्रख्यात थियो। त्यसबेला सुनसान बाटो, एकोहोरो गोरेटो भएर पाखैपाखोको बाटो जानुपर्ने भएकोले वर्षको १ पटकन जान पनि हम्मे हम्मे पर्दथ्यो। त्यसमाथि सेती नदीमा राखिएको फडेकमा दायाँबायाँ लटकेको बाँस वा डोरी समातेर डराइ डराइ हिँडेर पार गर्नुपर्ने अवस्था थियो।

त्यस्तो फड्के पुलबाट आवातजावत गर्ने अवस्थालाई देखेर नेपालका भूतपूर्व प्रधानमन्त्रीको रुपमा थोरै समय कार्यभार सम्हालेका डा. के.आइ.सिंहले आफनै खर्चमा पक्की पुल निर्माण गरिदिएका हुन्। त्यसैले आज पनि त्यो पुल र ठाएउँलाई के आइ.सिंह पुल भनिन्छ। यद्यपि अर्को नयाँपुल बनिसकेको छ। त्यही फड्के तरेर भुर्जुङखोला, च्याङलुङ पुरञ्चौर, घार्मी, अर्मला, थालमोहडा, जुम्लेटी, लामाचौर बाटुलेचौरका आमनागरिक पोखरा आवात जावत गर्ने गर्दथे। त्यसबेलाको समय यस्तै थियो।

पोखरा बजारमा वस्ती बढ्दै गएको र खानेपानी भनेर ल्याइएको धारापानीको बालधारा नपुग हुन थाल्यो। कैयन पटक सिम्पानी, कालीखोला फिर्केखोलामाथि रहेको लक्ष्मी धारा, जयमूल सानो धारापानीबाट पानी ल्याउनुपर्ने स्थिति थियो। त्यसताका पुरञ्चौरमा रहेको भोटेखोला निकै ठूलो खोला थियो र त्यही पानीलाई पोखारमा ल्याउन योजना बनेअनुसार थप पानी ल्याइ लामाचौर अमला विसौनीमा ठूलो ट्यांकी बनाइएको थियो। जुन अहिले पनि रहेको छ।

त्यसपछि कालीखोलाको स्रोत कालमोहडाबाट थप पानी ल्याउन पाइप लाइन विच्छ्याइएको थिो र त्यो पनि अपुग भएपछि ल्वाङघलेलबाट बग्दै आउने मर्दी खोलालाई पाइपको माध्यमबाट पोखरावासीलाई पानी खुवाउने बन्दोबस्त भएको हो। पानी जमा गर्न विन्दवासिनी नेर अर्को ठूलो पानी संकलन केन्द्र छ नै। टुँडिखेल र हाइस्कूलबाट पश्चिमपट्टि ससाना भिर र डाँडा नै थिए। स्कूलको छुट्टिसमय र कहिलेकाहीँ घर र्फकन त्यही भिर चढेर मिरुवाको डहर हुँदै हाल २ नं. वडा कार्यालय रहेको ठाउँ र सराङकोट उक्लने दोबाटो आइपुग्थ्यो।

त्यसबेला हिँड्ने गोरेटो वा डहरनेर आफ्नो साँधमा ढुंगा पर्खाल बनाइने र उक्लेर निकै पर बनाइएको घरमा जानुपर्ने डिजाइनमा घर कम्पाउण्ड निर्माण भएको हुन्थ्यो। धेरैको घरमा गाई भैंसी पाल्ने चलन नै थियो र खेतीपातीका लागि गोरु पनि पालिन्थ्यो। त्यसको लागि वासको झस्केलाहरू राख्ने व्यवस्था गरेको पाइन्थ्यो। प्रायशः घरमा आफ्नै खेतमा हुने पराललाई टौवा, बनाइ राख्ने मकैको सुली बनाइ घर अगाडि राख्ने प्रचलन नै थियो।

उहिलेको पोखरा र वरिपरिको परिवेश संक्षिप्तमा वर्णगर्दा पनि अत्यन्तै सुखानुभूति हुन्छ। पोखरा शहर बनेदेखि नै शान्त र सुन्दर ढंगले बस्ती र गोरेटोहरूको कारणले सरसफाइमा ध्यान पुर्‍याएको देखिन्छ। बजारभरी छापिएका ढुंगाका छपनीहरूमा हरेक बिहान सरसफाइ गर्ने प्रचलनले पोखरालाई सफा शहर बनाएको हो अहिले पनि पुरानो बजरमा यो चलन विद्यमान रहेको छ। त्यसैले त पोखरा सफा पोखरा भएर पहिचान बनाएको छ। बाँकी सर्न्दर्भ अर्को पटक !

- आनन्दराज मुल्मी