“इस्लाम धर्म र नेपाली मुसलमान”

इस्लाम धर्म मान्नेहरुका लागि यो पवित्र रमजानको महिना हो। इस्लाम धर्म मान्नेहरुलाई मुसलमान भनिन्छ। नेपालका गाउँघरमा आज पनि इस्लाम धर्म मान्नेहरुलाई “चुरेटा” भन्ने चलन रहि आएको छ। वास्तवमा बाइसे-चौवीसे राजाहरुको पालामा चुरा-पोते र श्रृङगारका सामान बेच्नेहरुलाई चुरेटा भनिन्थियो। पछि-पछि यो चलन हटदै गयो।

नेपालको एकीकरण पूर्व यिनै भुरे-टाकुरे वा बाइसे-चौवीसे राजाहरुको दरबारमा रानी, पटरानी वा राजकुमारीहरुलाई चुरा-पोते लगायत श्रङ्गारका सामग्रीहरु बेच्न भारतबाट आएका मुसलामानहरुलाई नै चुरेटा भन्ने चलन बसेको भनिन्छ। चुरेटा पुरुषहरुले बारुद र बन्दुक बनाउने काम गर्थे भने चुरेटी (महिला)हरुले श्रृङ्गारका सामानहरु बेच्ने गर्थे। पछि-पछि यिनिहरु नेपालका गाउँहरुमा नै बस्न थाले र यहीँका बासिन्दा भए।

आज पनि नेपालका पहाडी गाउँहरुमा यत्र-तत्र चुरेटा गाउँ-बस्ती रहेको पाइन्छ। विस्तारै यिनीहरु शहर-बजारतिर पनि फैलिँदै गएको बुझिन्छ। यिनीहरु एक थरीका इस्लाम धर्म मान्ने मुसलमानहरु हुन भने अर्का थरी बसाइ-सराइ वा व्यापारका उद्देश्यले समय-समयमा नेपाल प्रवेश गरेका मुसलमानहरु हुन्। मुसलमान होऊन वा बाहुन, क्षेत्री इत्यादि आज सबै नेपाली हुन् र नेपालका इस्लाम धर्म मान्नेहरुलाई नेपाली मुसलमान नै भनिन्छ र हुन् पनि।

वास्तवमा नेपालका इस्लाम धर्म मान्ने नेपालीहरु विश्वका अन्य इस्लाम धर्म मान्नेहरु भन्दा विवकेशील, राष्ट्रवादी, शान्तिप्रिय, सहनशील र इस्लाम धर्मलाई सही अर्थमा बुझेकाहरु हुन भनी इतिहास र विगतका घटनाहरुले प्रमाणित गरिसकेको छ। यसै सर्न्दर्भमा हिन्दू-धर्म र इस्लाम धर्मको तुलना पनि गर्ने हो भने भौगोलिक र भाषिक भिन्नताको अन्तर बाहेक विशेष अन्तर छैन।

उनीहरुले मूर्तिपूजालाई “बुत” को पूजा गरेको भन्छन् जुन ठडिएको मूर्ति हो, तर उनीहरुले “मजार” को पूजा गर्छन् जुन सुतेको हो। हामी माला र धजा चढाउछौं, उनीहरु फूल र च्यादर चढाउँछन्। हामी मूर्ति पखालेको पानीलाई पवित्र मान्छौ उनीहरु मजार धोएको पानीलाई पवित्र मान्छन्। हामी स्र्वर्ग भन्छौ उनीहरु ‘जन्नत” भन्छन्। हामी “एको ब्रह्मा द्वितीयो नास्ति” भन्छौं उनीहरु पनि “अल्लाह एक” भन्छन्। हिन्दू धर्मशास्त्रहरुमा जे जति सत्कर्महरुको उल्लेख गरिएको छ इस्लाममा पनि त्यही भनिएको छ। हिन्दूले “दान” भन्छन मुसलमानले “जकात” भन्छन र तोके कै छन कि कमाईको चालिसवाँ हिस्सा “जकात” दिनु। हिन्दूहरु पूजा-पाठ जप-तप, ध्यान गर्छन् मुसलमानहरु “नमाज” र “रोजह” गर्छन्। हिन्दूहरु “तीर्थ” जान्छन मुसलमान “हज” गर्न जान्छन्। सात्विक र संयमी जीवनलाई दुवै धर्मले उत्तिकै मानेका छन्।

इस्लामले “तकवे” (संयम)लाई ठूलो मानेको छ। सच्चाइ र इमानदारी इस्लाम धर्मको बुनियादी शिक्षा हो। सच्चाई भनेको आपसको व्यवहारमा सत्यता अर्थात छल-कपट न होस्। इस्लाम धर्ममा “भ्रष्टाचार” लाई ठूलो पाप भनिएको छ (जुन नेपालका सत्ताधारीहरुको “धर्म” भईदिएको छ) इस्लामले भन्छ माता-पिता को खुट्टामुनि नै स्र्वर्ग छ। आफ्ना छिमेकीसँग अर्थात् “पडौसी” सँग प्रेमको व्यवहार गर चाहे त्यो मुसलमान होस अथवा गैर-मुसलमान होस्। हिन्दूहरुका वेद, पुराण, गीता, उपनिषद् आदिमा भनिएका कुराहरु न्यूनाधिक रुपमा सर्न्दर्भ अनुसार “कुरान” मा पाईन्छन्। गहिरिएर हेर्ने हो भने इस्लाम धर्म र हिन्दू धर्ममा कुनै तात्विक भेद छैन।

इस्लाम धर्मको उद्गम स्थल “मरुभूमि” हो। “मक्का मदीना” खाडी मुलुकमै पर्छ। बालुआ भएको अर्थात् रेतिलो भूमि भएको हुनाले त्यहाँ हरियाली हुँदैन। यही कारण हो मुसलमानहरुले हरियो रङ्ग मन पराउने र चन्द्रमा को पूजा गर्ने। चन्द्रमाले शीतलता दिन्छ। सूर्यले ऊष्णता। मरुभूमिमा गर्मी हुनाले अर्थात् भौगोलिक कारणले यस्ता केही भिन्नता इस्लाम धर्ममा देखिन्छन्। वास्तवमा धर्मको परिकल्पना वा स्थापना मानिस-मानिस बीच सद्भाव, प्रेम र सौहार्दता कायम गर्न गरिएको बुझिन्छ।

जनावर भन्दा मानिस विवेकशील, बुद्ध्रि्रधान र सामाजिक प्राणी भएको हुनाले उनीहरुलाई मर्यादित, प्रगतिशील र संगठित गर्ने दुवै धर्मको ध्येय वा लक्ष्य रहेको हुनुपर्छ। तर समय-समयमा विभिन्न भू-भागका सत्ताधारी वा निहित स्वार्थ भएकाहरुले धर्मको आधारमा मानिसहरुलाई बाँड्ने र भाँड्ने काम गरे। धार्मिक विद्वेष फैलाए र आफ्नो उल्लू सीधा गर्ने काम गरे। भारत र पाकिस्तान यसैका उदाहरण हुन् र भारतमा समय-समयमा हुने हिन्दू-मुस्लिम दङ्गाहरु पनि यसैका परिणति हुन्।

यदि सबै धर्मको उद्देश्य मानव कल्याण हो भने मानव-मानवमा रक्तपात किन ? के का लागि ? यो धरती यो आकाश कस्को हो ? के इश्वरले, अल्लाह या गडले भागबन्डा गरेर यी सत्ताधारीहरुलाई राज गर जाऊ भनी पठाएका हुन त ? धर्मको अर्थ कट्टरता होइन, सदाशयता हो। धर्मले हिंसालाई स्वीकार्दैन। धर्म व्यक्तिगत हो।

इस्लाम (हदीस)मा यहाँ सम्म पनि भनिएको छ कि एउटा राम्रो मुसलमान हुनका लागि “नमाज” र “रोजा” गरेर मात्र हुँदैन उसको गुण पनि हेर्नु पर्‍यो। त्यो सत्यवादी छ कि छैन, अरुको धरोहर वा नासो सम्बन्धित व्यक्तिलाई समयमै ठीक-ठीक फिर्ता गर्छ कि गर्दैन, र कष्ट वा दुःख पर्दा संयमपूर्वक स्थिर रहन सक्छ कि सक्दैन। हिन्दू धर्ममा पनि यस्तै भनिएको छ। इश्वरप्रति निष्ठा आस्था र समर्पण भाव छैन वा आचरण ठीक छैन भने पूजा-पाठ वा तीर्थव्रतले केही हुने वाला छैन। हिन्दीमा त उखान नै छ, “मुहँ में राम राम बगल में छूरी।”

हुन त धर्म सभ्यताको प्रतीक पनि हो। धर्मले मानिसलाई सभ्य बनाउँछ। तर धर्मको गलत बुझाइले मानिसलाई उग्रवादी वा आतङ्ककारी पनि बनाई दिन्छ। संसारका कैयन राष्ट्रहरुमा भइरहेका आतङ्ककारी गतिविधि यसैको परिणाम हो। इस्लामको पाँचवटा बुनियादी शिक्षा हुन- कलिमा, नमाज, जकात, रोजह तथा हज। यसलाई “अरकाने इस्लाम” भनिन्छ। “जेहाद” शब्दलाई लिएर पनि केही भ्रम सृजना गरिएको छ। इस्लामले धर्मको नाउँमा “जेहाद” को नाउँमा आतङक मच्चाउनु त कही पनि भनेको छैन। हो धर्मको मार्गमा हिँड्दा जस्तो सुकै विपत्ति, दुःख-कष्ट वा व्यवधान परे पनि निडर भई, अडिग भई सबै प्रकारका दुःख-कष्ट झेल्दै अगाडि बढ्नु नै ‘जेहाद’ हो। अरुलाई मार्नु वा आतङ्क मच्चाउनु ‘जेहाद’ कदापि होइन।

अन्तमा नेपाली मुसलमानहरुका विषयमा उनीहरुसितै सम्बन्धित केही थप कुराहरु भन्न      चाहन्छु। उनीहरुको सहनशीलता, इमानदारी र राष्ट्र (नेपाल) प्रतिको आस्था र बफादारीका केही उदाहरणहरु विगतका घटनाहरुले प्रमाणित गरेको छ। केही वर्ष पहिला नेपालगञ्जमा जातीय दङ्गा भड्केको थियो। मुसलमानहरुको एक प्रतिनिधि मण्डलले सुशील कोइरालालाई भेटेर गुहार मागेछन्। उहाँले भन्नुभएछ, “ऐसी छोटी-मोटी समस्या लेकर मेरे पास मत आया करो। तुम खुद ही निपटाया करो।” प्रतिनिधिहरु रुष्ट भएर फकेछन्। पछि चुनाउमा सुशील जी अन्य कारण लगायत यस कारणले पनि हार्नु भयो।

जातीय दङ्गामा राजनीतिक हस्तक्षेप न गरेको भन्ने अर्थ पनि लाग्न सक्छ तर त्यस दङ्गालाई अझ भड्किन नदिने काम त नेपाली मुसलमानहरुले नै त गरे। अको उदाहरण- काठमाण्डौंको जामेमस्जिदको तलो थप्ने अनुमति माग्दा तत्कालीन प्रधानमन्त्रीले दिनु भएनछ र भन्नु भएछ राजाको नारायणहिटी दरबार भन्दा अग्लो भवन बनाउन मिल्दैन, कानूनले दिन्न। आज नारायणहिटी दरबार संग्रहालय बन्यो र मस्जिद फेरि पनि चकमन्न छ। खुदा -इश्वर)को घर भन्दा राजा -मानिस)को घर ठूलो हो र – नेपाली मुसलमानहरु फेरि पनि सही बसे।

केही वर्ष पहिलाको घटना हो जब खाडी मुलुक इराकमा बाह्र जना नेपाली कामदार मारिए। काठमाडौंका नेपाली ताते भड्किए र जामे मस्जिद नै तोड-फोड गर्न थाले। विदेशी हस्तक्षेपले गर्दा तत्कालीन सरकारले प्रहरी परिचालन गरी नेपाली युवाहरुलाई धपाउनु पर्‍यो। यस घटनामा बुझनुपर्ने के थियो भने खाडी मुलुक अर्थात् इस्लामिक मुलुकहरुमा बाह्र जना होइन बाह्र लाख भन्दा बढी नेपाली   कामदार छन्। ती मुलुकहरुले ती सबै नेपाली कामदारहरुलाई फिर्ता पठाइदिएको भए के हुन्थ्यो ? ….

जामे मस्जिद नेपालको होइन र ? त्यहाँ “नमाज” गर्न जाने नेपाली होइनन् र ? नेपाली मुसलमान र नेपाली जामे-मस्जिद इराकको हो र ? कागले कान लग्यो भन्दैमा कागका पछि दगुर्नेलाई के भन्ने ? …. तब पनि नेपाली मुसलमानहरु सही बसे। सलाम छ नेपालका नेपाली मुसलमानहरुलाई- मेरो † र पवित्र “रमजान” को मुवारकवाद।

- टीकाराम वाग्ले