आदिकवि भानुभक्त आचार्यका पूर्खा र घरघडेरी

इतिहासको सुदूर गर्भलाई निहाल्दा एउटा अस्पष्ट र धुमिल चित्र देखिन्छ। आदिकवि भानुभक्त आचार्यलाई खोज्दै इतिहासको त्यस गर्भलाई चिहाउन खोजिएको छ, जहाँ बूढापाकाका किम्वदन्ती, लिखित सामग्रीका विचार र केही भोगेका अनुभव भेटिन्छन्। यहाँ त्यसलाई एउटा आलेखको स्वरूप दिन खोजिएको छ। जसबाट आदिकवि भानुभक्त आचार्यका पूर्खा, पूर्खाले पाएको बिर्ता र घरघडेरी शीर्षकबाट खोतल्ने जमको गरिएको छ।

आदिकवि भानुभक्त लम्जेल आचार्य हुन् । लम्जेल थरको परम्परा खोज्दै जाँदा कौण्डिन्य गोत्रीय आचार्य वंशका आदि पुरुष भनिने सच्चिदानन्द भट्टका पनातिसम्म पुगिन्छ। पनातिको नाम काशीराम आचार्य थियो। यिनले राजाबाट लम्जी भन्ने ठाउँमा बिर्ता पाए। आचार्य वंशावलीले लम्जीमा काशीरामका १८ पुस्ताले बसोवास गरेको उल्लेख गरेको छ। यहाँ वसोवास गर्ने आचार्यहरुलाई लम्जेल भन्न थालियो। जस अनुसार प्रथम लम्जेल थर भएका आचार्य काशीराम देखिन्छन्। पश्चिम नेपालको दैलेख जिल्लामा लम्जी भन्ने ठाउँ पर्छ। अहिले पनि त्यहाँ बडा लम्जी भन्ने ठाउँ छ। बडा लम्जी नामले गाउँ विकास समितिको नाम समेत बनेको देखिन्छ । आदिकवि भानुभक्त आचार्यका लम्जेली पूर्खा दैलेख हुँदै पाल्पातिर आएको हुनुपर्छ।

भानुभक्तका पूर्खाहरुको थर भने ठाउँको नामले मात्र बनेको देखिँदैन । यो थर कसरी रह्यो भन्ने बारेमा दुर्इओटा किम्वदन्ती भेटिन्छन् । एउटा लिखित रूपमा भेटिने आचार्य वंशावलीको किम्वदन्ती छ, : भारतको उत्तर प्रदेशमा पर्ने कान्यकुब्ज राज्य तुकहरुको आक्रमणले तहसनहस भयो। त्यसले कान्यकुब्जका सच्चिदानन्द र सदानन्द भन्ने दुर्इ भाइ ब्राहृमण आत्तिए । एक दिन तिनीहरु पहाडी देश जुम्ला पुगे।

त्यस समयमा जुम्लाका राजाले यज्ञ गर्न लागेका थिए। दुर्इ भाइबाट राजाको यज्ञ सम्पन्न भयो। राजाले जेठा सच्चिदानन्दलाई यज्ञको आचार्य बनाएका थिए। आचार्य बनाएकाले सच्चिदानन्दका सन्तानले आचार्य थर लेख्न थाले । वंशावलीमा यस्तो लेखिए पनि कान्यकुब्जमा बस्ने १६ वटा गोत्र भएका ब्राहृमणमध्ये कौण्डिन्य गोत्री ब्राहृमणको उल्लेख पाइँदैन। यसबारेमा अको मौखिक रूपमा भेटिने किम्वदन्ती छ : तेह्रौँ शताब्दीतिर काशीका राजाले भारत वर्षभरिका ठूला ठूला विद्वान्लाई शास्त्रार्थको निम्ति निमन्त्रणा गरेका थिए रे । शास्त्रार्थ हुने सभामा पर्वतीय देशबाट एक जना भट्ट थर भएका ब्राहृमण पनि भाग लिन गएका थिए। शास्त्रार्थमा उत्कृष्ट विद्वत्ता पहिचान गर्न विद्वान् निर्णायकहरु बसेका थिए। विभिन्न विद्वान्बीच शास्त्रार्थ शुरु भयो। अन्त्यमा निर्णायकहरुले काशीका राजा समक्ष भट्ट ब्राहृमणलाई सवोर्त्कृष्ट विद्वान्को घोषणा गरे ।  घोषणापछि राजाले पुरस्कार स्वरूप ब्राहृमणलाई आचार्य भन्ने पद दिए। त्यसपछि उनका सन्तानले आचार्य थर लेख्न थालेका हुन् । किम्वदन्तीले भानुभक्तको आचार्य थर विद्वत्ता प्रदर्शन वा यर्ज्ञकर्म गराएका कारण प्राप्त भएको बुझिन्छ। स्थानबाट पाएको लम्जेल थर भने गौण रहेको देखिन्छ।

मणि मुकुन्द सेन -वि.सं. १५७५(१६१०) ले पाल्पा राज्य विस्तार गरेका थिए। उनले आफ्नो राज्य चारजना छोराहरुमा विभाजन गरे। तनहुँ राज्य उनका साहिँला छोरा भृङ्गी सेनको भागमा परेको थियो। भृङ्गी सेनले तनहुँ सुरमा दरबार बनाए। त्यस समयमा तनहुँ पहाडी देश भनेर चिनिन्थ्यो। भानुभक्तका पूर्खा पनि पश्चिम नेपालको लम्जीबाट पुरानो राज्य पाल्पामा आएर बसेको हुनुपर्छ। किम्वदन्तीमा भानुभक्तका कुनै एक जना लम्जेल पूर्खा पाल्पा हुँदै तनहुँमा आए भनेको सुनिन्छ। तर ती पूर्खा दैलेखबाट नै तनहुँमा आएको पनि हुनसक्छ। किनभने वंशावलीमा लम्जीबाट काशीरामका १९ सौँ पुस्ताका गोकुल लम्जेल र हरिनाथ लम्जेल लमजुङमा आएर  कास्कीका राजा कुलमण्डन शाहका कान्छा छोरा यशोब्रहृम शाहलाई राजा बनाउन सहयोग पुर्‍याएको उल्लेख भेटिन्छ। पाल्पा वा दैलेख जहाँबाट आए पनि भानुभक्तका पूर्खा भारीतारी बोकाएर आएका थिए रे। आउँदा चुँदी खोलाको मर्‍याङघाटनेर दक्षिण पश्चिमपट्टिको पाखोमा भारी बिसाएका थिए। त्यहाँ उनले विश्राम पनि गरे। तनहुँ सुरका राजासँग ब्राहृमणको भेट भयो। राजाले भानुभक्तका पूर्खालाई गाउँमा तनहुँ सुरको धारापानी र बेसीमा तनहुँ आउँदा भारी बिसाएको ठाउँ मर्‍याङघाटनेरको पाखोमा घरघडेरीको व्यवस्था गरे।

एक दिनको कुरो हो, तनहुँ सुरको दरबारबाट सेन राजा चुँदीफाँटमा झरेका थिए। चुँदीफाँट डाँडाको फेदीमा बहने चुँदीखोलाले बनाएको जलाधार क्षेत्र हो। उनका साथमा तनहुँ सुर र त्यस वरपरका गन्यमान्य मानिसहरु थिए। तिनताकाका गन्यमान्यहरु बाँण हान्ने, घुँयत्रो हान्ने, छेलो खेल्ने, दौडने, हाम्फल्ने, पौडी खेल्ने, पहलमानी देखाउने, गह्रौँ ढुङ्गो उचाल्ने, ढुङ्गो बोक्ने र उचालेर फाल्ने जस्ता कसरत गर्थे। यस्ता कामबाट समाजमा प्रतिष्ठा र सम्मान प्राप्त हुन्थ्यो। राजाका साथमा मानिसहरु चुँदीफाँटको मर्‍याङघाटमा पुगे। पुग्नेहरुमध्ये भानुभक्त आचार्यका एक जना विद्वान् पूर्खा पनि थिए। भेला भएका मानिसहरुले खोलाको किनारमा कसरत सुरु गरे। त्यस बेला राजाले भने : जसले मर्‍याङघाटको यो ठुलो ढुङ्गो बोकेर नथाकुञ्जेल हिँड्छ र थाकेपछि बिसाउँछ, त्यो हिँडेजति सबै जमिन म बिर्ता दिन्छु। भनिन्छ, त्यो ढुङ्गो त्यहाँ भेला भएका मानिसले उचाल्ने आँट गरेनन्।  भानुभक्तका पूर्खाले भने त्यो ढुङ्गो गाजोको नाम्लो लगाई बोकेर पूर्वतर्फ खुरुखुरु हिँडे। धेरै बेर हिँडेर थाकेपछि ढुङ्गो बिसाए। ढुङ्गो बिसाएको ठाउँलाई ढुङ्गे भनिन्थ्यो। मर्‍याङ्घाटदेखि ढुङ्गेसम्म भानुभक्तका पूर्खाको बिर्ता हुने भयो।

बिर्ता पाएको कुरा चुँदी बेँसीभर फैलियो।  राजाले आबादी र पर्ती सबै पाखो र खेत  बिर्ता दिएका थिए। जग्गा जमिन आबाद गरी खेतीपाती गरेका सारा किसानहरुको लश्कर डोको बोकी तनहुँ सुरको डाँडातिर उक्ल्यो। लश्कर राजाको दरबारमा पुग्यो। किसानहरुले राजासँग आबादी जमिनलाई बिर्ता नदिन अनुरोध गरे। किसानको अनुरोधको सुनुवाइ भएन। राजाले आफ्नो आदेशलाई परिवर्तन गरेनन्। त्यस समयमा भानुभक्त आचार्यका पूर्खा राजाको नजिकै थिए। पूर्खाले राजाको आदेशलाई भन्दा किसानको अनुरोधलाई स्वीकार गरे। बिर्ता पाउने भानुभक्तका पूर्खाले आबादी जमिन चाहिँ किसानहरुलाई फिर्ता गरे, केवल पर्ती जमिन मात्र बिर्ताका रूपमा स्िवकारे । यो उदारता देखेर सबै किसानहरुले भानुभक्त आचार्यका पूर्खाको तारिफ गरे। यो उदारता देखाउने पूर्खाको नाम भने थाहा छैन। बिर्ता पाएपछि भानुभक्तका पूर्खा चुँदीरम्घाको पुरानो डिहीमा नै स्थायी बसोवास गर्न थाले। पूर्खाहरुको नाम निम्न रहेको भेटिन्छ : सूयोर्पाध्याय, सुनन्दोपाध्याय, इन्द्रमणि उपाध्याय, विष्णुहरि उपाध्याय, मणिकण्ठोपाध्याय, स्थानेश्वरोपाध्याय, ऋषीश्वरोपाध्याय, बालनन्दोपाध्याय, अग्नीश्वरोपाध्याय र श्रीकृष्ण आचार्य। अहिलेसम्म प्राप्त आचार्य वंशावलीमा पूर्खाका नामहरु फेला परेका छैनन्। बिर्ता पाउने उपाध्यायभन्दा अगाडिका उपाध्यायका सन्तान पनि थिए। तिनीहरु चुँदीबाट अन्यत्र गए हुनन्। त्यसैले तनहुँको सदरमुकाम डमौलीभन्दा पश्चिमको साँगे फाँट, चुँदीरम्घा डाँडोभन्दा उत्तरको फाउँदी र गोरखा जिल्लाका आचार्यहरु आफ्नो पुख्यौर्ली स्थल चुँदीरम्घा भएको बताउँछन्।

भानुभक्तका बिर्तावाल पूर्खाको घरघडेरी पुरानो डिहीमा थियो। एकभन्दा धेरै पुस्ताले वसोवास गरेपछि पुरानो डिही हुन्छ। पुरन्डिही यसकै अपभ्रंश हो। भानुभक्तका बाजे श्रीकृष्ण आचार्य र उनका छ भाइ छोरा र दुर्इ बहिनी छोरीहरु खेलेको, हुकेकाले मात्र पुरन्डिही भन्ने नाम रहेको होइन। त्यहाँ भानुभक्तका पूर्खाको केही पुस्ताले वसोवास गरेपछि पुरन्डिही अर्थात् पुरानो डिही बनेको हो। जहाँ भानुभक्त आचार्यको सगोलको घरघडेरी थियो। पङ्क्तिकार बालवयमा गाईगोरु लिएर पुरन्डिहीतिर जान्थ्यो। त्यहाँ सर्पहरु हिँडेका र लठारिएका देखिन्थे। सर्पसँग बालभय हुने नै भयो। बूढाबूढीहरुले सर्पसँग रहस्यवादको साइनो गाँसिदिन्थे र भन्थे, “यहाँ हाम्रा पूर्खाहरुले सुनचाँदी र पैसा गाडेर राखेका छन्। अहिले सर्पको आकार लिएर सुनचाँदी र पैसाहरु बाहिर डुलिरहेका छन्। सर्पको नजिक रुमाल लगेर ओछ्याउनुपर्छ। रुमालमा सर्प हिाडे भने सर्प बिलाउँछन्। तिनीहरु त रुमालभरि सुन, चाँदी र पैसा बन्छन्।” बालभयले रुमाल फिजाउन सकिन्नथ्यो। तर अहिले भानुजन्मस्थल विकास समितिले यो पुख्यौर्ली घरघडेरीेको जमिनमध्ये ७ रोपनी जमिन भानुभक्तका ठाहिँला बाबुका सन्तानसँग किनेको छ। उनीहरुबाट श्रीकृष्ण र भानुभक्त आचार्यलाई सम्झेर यहीँ ३ रोपनी जमिन सहयोग मिलेको छ। अहिले आदिकवि भानुभक्त आचार्यले बालवयमा खेलेको उप|mेको, पढेको , बालक्रीडा गरेको र उनका पूर्खाले चर्चेको १० रोपनी जतिको वास्तविक घडेरीलाई समितिले आफ्नो बनाएको छ।

- प्रा.डा. शर्वराज आचार्य