आँखाको हेरचाह जहाँतही

आज आइ केयर एभ्री व्होरेर अर्थात आँखाको हेरचाह जहाँ तहीँ भन्ने नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदैछ। अक्टोबर महिनाको दोस्रो बिहीवार विश्वभरी दृष्टि दिवस मनाइने गरिन्छ। आँखा छ त संसार छ। यसैबाट बुझन सकिन्छ आँखाको महत्व। दृष्टिकाबारे आम मानिसमा जानकारी गराउने र दृष्टिको महत्व बुझाइ अन्धोपन हुनबाट बचाउनु नै दृष्टि दिवसको प्रमुख उद्देश्य रहेको छ। आँखाको स्वास्थ्य र उपचार वर्तमान विश्वका लागि ठूलै चुनौति भएको महसुस गरी विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय अन्धोपन निवारण संघ, लायन्स क्लब इन्टरनेश्नल तथा विभिन्न सरकारी, गैर सरकारी र नीजि संस्था, आँखारोग विशेषज्ञको पहलमा दृष्टि दिवस मनाउने गरिएको थियो। अहिलेसम्म आइपुग्दा आज हामीले छैटौं विश्व दृष्टि दिवस मनाउँदैछौ।

तथ्याङकनुसार ३ करोड ६० लाख मनिस अन्धोपनको शिकार भएका छन्। यी अन्धोपन भएका हरेक पाँचमध्ये चार जनालाई अन्धो हुनुबाट बचाउन सकिन्थ्यो। यदी हामीसँग प्रयाप्त मात्रामा दक्ष जनशक्ति, आँखा उपचार केन्द्र र समय मै जनमानसमा आँखा उपचारका बारेमा जागरुकता ल्याउन सकेको भए विश्वभरमा अन्धो जीवन बिताउन बाध्य भएका करीब ८० प्रतिशत जनसख्यालाई अन्धो हुनबाट बचाउन सकिन्थ्यो।

नेपालमा पनि दृष्टिविहीनहरूका हकहितका लागि विभिन्न संघसस्था कार्यरत छन। आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदहारणीय देश हो। तथापि नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा शहरदेखि ग्रामीण भेगसम्म आँखाको रोग, यसको समय मै उपचार र रोकथामका लागि टड्कारो रूपमा जनस्तरबाटै जागरुकता ल्याउन आवश्यक देखिन्छ। जनचेतनाको अभावका कारण आजसम्म पूर्णरूपमा अन्धोपन भइनसकेका तर कुनै न कुनै कारणबाट दृष्टि क्षमतामा कमी भएका या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित भएका १ अरब २७ करोड मानिस विश्वभर रहेका छन्। यति ठूलो संख्यामा यस्तो समस्या भोग्नुका मुख्य कारणहरू शल्यक्रिया नगरिएका मोतीबिन्दु -आँखा भित्रको पारर्दर्शक लेन्समा बादल लाग्ने रोग, जसलाई सजिलै अपरेशनद्वारा निदान गर्न सकिन्छ)। त्यस्तै जलबिन्दु -जसले आँखाको दृष्टि क्षेत्र र आँखाबाट दृश्यको सन्देश बोकेर मस्तिस्कमा लैजाने आँखाको दृष्टि नशालाई नस्ट गर्दछ)। उपचार नगरिएको रिफ्राक्टिभ इरर (चश्मा लगाउनु पर्ने अवस्था जस्तैः दूर दृष्टि, अदूरदृष्टि, अस्टिकम्याटीजम)। करिब ४३ प्रतिशत अन्धोपन भएका व्यक्तीलाई समय मै चश्मा लगाउने सल्लाह वा ज्ञान भएको भए, आज उनीहरूको जीवन अन्धकारमय हुने थिएन। त्यसैगरी अन्धोपन भएकामध्ये ३३ प्रतिशत आँखाका रोगीहरू मोतियाबिन्दुको अपरेशन नगरेर अन्धो भएका छन। अन्धोपन भएकामध्ये २ प्रतिशत व्यक्ती जलबिन्दुको उपचार नगरेर अन्धो भएका छन। मधुमेहका रोगीहरूले आँखाको विशेष स्याहार गर्नुपर्ने हुन्छ किनकि मधुमेहका रोगीहरूलाई आँखामा डाइवेटिक रेटिनोप्याथी बनाउँदछ। जसको अर्थ रगतमा चिनीको मात्रा अत्यधिक बढेको खण्डमा आँखा भित्रको दृष्टि पर्दामा हुने रक्तकोशिकामा असर गरी आँखाको देख्न सक्ने क्षमतामा कमी ल्याउछ।

शरीरका अङ्गमध्ये सबैभन्दा महत्वपूर्ण आँखाको स्याहार सुसार गरिएन भने आँखा सम्बन्धि विभिन्न रोग लाग्ने गर्दछ्न। ती रोगको समय मै उपचार गरिएन भने जीवन नै अन्धकारमय हुन्छ। त्यसैले आजैदेखि आफ्नो आँखालाई हरेक तवरबाट जोगाऔ। आँखालाई स्वस्थ राख्नका लागि हरियो सागसब्जी, मेवा, गाजर, फर्सी ब्रोकाउली जस्ता भिटीमिनयुक्त तरकारी तथा फलफूल नियमित सेवन गरौ। आँखाका रोगीले डाक्टरको सुझाव अनुसारको औषधि प्रयोग गर्नुका साथै चस्मा प्रयोग गर्ने सिफारिश गरिएकाले नियमित रूपमा चश्मा प्रयोग गरौ। बाहिरी वातावरणमा घुलो, धुँवा र फोहोर कसिङर हुने भएकोले गर्दा आँखामा समस्या आउने गर्दछ त्यसैले घर भित्र गएपछि चिसो पानीले मुख धुने बानी बसालौ। चर्को घाममा बाहिर जाँदा सूर्यका हानीकारक किरणहरू जस्तै परावैजनिक किरणहरू आदिबाट आँखालाई जोगाउनको लागि यु भि प्रोटेक्सन भएका चस्मा लगाउनु पर्दछ। आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एक पटक विशेषज्ञद्वारा आँखा जाँच गराउनु होला।

- डा लक्ष्मण तिमिल्सिना (दृष्टि विशेषज्ञ), खिम लामिछाने काजी