अल बिदा डाक्टर उपेन्द्र

प्रसिद्ध गीतकार क्षेत्रप्रताप अधिकारीको सुन्दर हरफहरुमा लेखिएको छ :

“जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ,

सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ।”

यसै शाश्वत सत्यलाई बुझेका डा. उपेन्द्र देवकोटाले मृत्युलाई सहजै स्वीकार्दै २०७५ साल जेठ ४ गते साँझ पशुपति आर्यघाटमा ब्रह्मनालको चितामा जलेर ब्रह्मलीन भए। यसबाट एउटा नेपालीले नवजीवन दिने डाक्टर गुमायो, एउटा सच्चा मित्रले हक्की र हँसिलो साथी गुमायो भने हिमालयको सुन्दर  देश नेपाल एक राष्ट्रभक्त र होनहारको जुधारु योद्धा तथा बैज्ञानिक डाक्टरलाई अन्तिम बिदाइ गर्न बाध्य भयो।

विरामी भएर ५६ महिना पहिला वेलायत पुगेका देवकोटाको स्वास्थ्यमा सुधार न भएपछि आफ्नै मातृभूमिमा जीवन त्याग गर्ने मनशायका साथ नेपाल फर्किएका देवकोटा आफैंले स्थापना गरेको बाँसबारीको न्यूरो अस्पतालमा भर्ना भै उपचार शुरु गरियो। स्वास्थ्य जटिल हुँदैगएपछि उनलाई न्यूरो अस्पतालकै आइसीयुमा राखी उपचार शुरु गरियो।

यसैवखत एक पटक आफ्नै जन्मस्थल पुगेर गाउँकै सिस्नेधाराको पानी पिएर आफ्नै घरको पिढींमा १ ,२ घण्टा सुस्ताउने उनको महान् इच्छा रहेको आशय थाहा भएपछि जेठ २६ गते परिवार  र चिकित्सक टोलीसहित हेलिकप्टरबाट गोरखा लिगलिगको पण्डित गाउँमा रहेको उनको जन्मघरमा पुर्‍याई पुन काठमाण्डौ फर्काइएको थियो।

स्मरण रहोस् महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुख्यौर्ली थलो पनि यही पण्डित गाउँ नै हो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे पछि उनका मूल पुरोहित विद्याधर देवकोटालाई पनि पृथ्वीनारायण शाहले आफू संगै लगी काठमाडौंको वसन्तपुर दरवारको मूल पुरोहित बनाएका थिए। करिब २४,२५ वर्ष पहिलाको कुरा हो मेरा एक जना साथी जो म कार्यरत रहेकै गण्डकी आवासीय मा वि पोखरामै पढाउनुहुन्थ्यो, विज्ञान विषयमा एमएससी गर्न वृटिस काउन्सिलको छात्रवृतिमा वेलायत जानु भएको थियो र वहाँको परिवारको आवास भने स्कूल भित्रै मेरो आवास नजिकै रहेको थियो।

केही महिनापछि वहाँको एउटी छोरी अकस्मात विरामी भइन्।डाक्टरलाई जचाउँदा टाउकाको न्यूरो सम्बन्धी समस्या देखियो। हतास मनस्थिति भएकी आमाले बेलायतमा फोन गरी छोरीको जटिल स्वास्थ्यको बारेमा जानकारी गराउनासाथ छोरीका बुबा सल्लाहको लागि सम्बन्धित डाक्टरको खोजी गर्दै जाँदा डाक्टर उपेन्द्रको प्रोफेसरसंग भेट हुने अवसर मिलेछ।

नेपालकी विरामी केटीको कुरा उठ्नासाथ प्रोफेसरले उत्साही हुँदै भनेछन् “नेपालीहरु कति भाग्यमानी” उपेन्द्र जस्ता बैज्ञानिक डाक्टर पाउने देश, छोरी तुरून्त डाक्टर उपेन्द्रलाई देखाउनुहोस्। “यसरी  स्वदेश, विदेशमा  प्रख्यात, प्रतिष्ठित डाक्टर उपेन्द्र देवकोटाको जन्म २०११ साल पुस ४ गते गोरखा लिगलिगको पण्डित गाउँमा भएको थियो।

अमरज्योति माध्यमिक विद्यालयबाट एस एल सी पास गरेका देवकोटाले बोर्ड दशौंको स्थान प्राप्त गरी आफ्नो अब्बल दर्जाको परिचय दिएका थिए। स्कूल पछि भलिवल खेली पानी पिएर भोक मिर्टाई एक घण्टाको उकालो चढी उपेन्द्र घर पुग्थे।

डा. बाबुराम भट्टराईका कक्षा सहपाठी उपेन्द्र सधैं हँसिला र फूर्तिला देखिन्थे। भट्टराई ब्याडमिन्टन खेलमा विषेश दखल राख्थे भने देवकोटा भलिवलमा। हेडमास्टर वर्गिज थोमसको अनुशासित जीवनबाट प्रभावित उपेन्द्र देवकोटाले मन्तव्य दिनेक्रममा सधैं भन्ने गथे “वर्गिज सरका विद्यार्थीले नियम कानून कहिल्यै तोड्दैनन्।यो ध्रुव सत्य हो।”

२०२५ सालमा बाबुराम, उपेन्द्र र मेरा काका चिरञ्जीवी धिताल १० कक्षामा पढ्दा यो पङ्तिकार ९ कक्षामा अध्ययनरत थियो अनि मलाई अझैं संझना छ कि कक्षा ९ र १० को संयुक्त वैठकमा राजनीतिज्ञ राजेश्वर देवकोटा पनि आउनु भएको थियो र स्कूलका अध्यक्ष कृष्णप्रसाद धितालले सम्वोधन गर्दै भन्नु भएथ्योस”यस वर्ष १० कक्षाका दुर्इ जना विद्यार्थी अति जेहन्दार छन्। बाबुराम सफल डाक्टर र उपेन्द्र सफल इन्जिनियर हुनेछन्”तर अन्तत बाबुरामलेर्र् इन्जिनियरिङमा पिएचडी गरी राजनीतिमा प्रवेश गरे भने उपेन्द्र प्रसिद्ध डाक्टर भई दुवै जना अन्तर्राष्टि्य व्यक्तित्वमा परिचित  हुन सफल भए ।

उपेन्द्र देवकोटाले अस्कल साइन्स कलेज काठमाडौंबाट उच्चतम अंक ल्याई आइएस्सी पूरा गरेपछि नेपाल सरकारको छात्रवृतिमा भारतको आसाम मेडिकल कलेजमा भर्ना भै एम बि बिएसको पढाइ पूरा गरी स्वदेश फर्किएका थिए।त्यसपछि लोकसेवा परीक्षा पास गरी वीर अस्पतालको सर्जरी विभागमा रजिष्टार भै ५ वर्ष काम गरेपछि उनी न्युरोर्र्सजरीमा एम डी गर्न वेलायत गए।

उपेन्द्रको बहुमुखी प्रतिभा र सीपबाट त्यहाँ उनका  प्रोफेसर तथा सहपाठीहरु पनि तीन छक पर्दथे। ६,७ वर्षको गहन अध्ययन र तालीम पूरा गरेर उत्साह र उमंगसाथ नेपाल फर्की वीर अस्पतालमा न्युरोलोजी विभागको प्रमुख भै विरामीको उपचारमा तल्लीन भए। यसै समयमा उनले वीर अस्पतालमा २५ वर्ष काम गरी अस्पतालको अवस्थालाई व्यापक सुधार गरेका थिए।

एशियाकै एक उत्कृष्ट न्यूरोर्र्सजनमा कहलिएका देवकोटा वीचमा ७ महिना स्वास्थ्य मन्त्री पनि भएका थिए। आफ्नो कार्यकालमा देवकोटाले देशको स्वास्थ्य क्षेत्रको विकासको लागि महत्वपूर्ण कार्यको शुरुवात गर्नुका साथै वीर  अस्पताललाई चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (नाम्स )मा परिणत गरी उत्कृष्ट सरकारी अस्पताल बनाउन सफल भएका थिए।

त्यसपछि उनले बाँसबारीमा आफ्रनै भिजन अनुसारको न्यूरो अस्पतालको स्थापना गरी न्यूरोलोजी सेवाको व्यापकरुपमा विस्तार गर्न सफल भएका थिए। साथसाथै आफ्नी आमाको नाममा दुखी,निरीह नेपालीहरूको स्वास्थ्य सेवाको लागि वसुन्धरा स्वास्थ्य ट्रष्टको पनि स्थापना गरी सेवा दिन सफल भएका थिए।

यसप्रकार उनको सेवा अवधिभर करिव १८ हजारको सर्जरी र ३ लाख विरामीकेा स्वास्थ्यपरीक्षण गरेको विभिन्न स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको पाइन्छ। ३ छोरी र धर्मपत्नी डा.मधु दीक्षित देवकोटालाई छाडी उनी यस धरतीबाट विदा भएतापनि उनले देश र नेपाली जनतालाई गरेको मानवीय सेवाले उनी यो देशमा सदा उज्वल नक्षत्रको रूपमा चम्किरहनेछन्

अन्ततः

धर्तीको माथि एक मुठी स्वास लिएर बाचुञ्जेल।

आँशु र हाँसोमय जीवन सजीव बन्दछ नमरुञ्जेल।

आकाश वीचको एक टुक्रा जून झैं उपेन्द्र त्रि्रो संझना।

गाँठो परी रहिरहनेछ वियोगी मेरो हृदयमा।

(लेखक गण्डकी आवासीय मा वि पोखराका पूर्व सहायक प्राचार्य हुन्। सं.)

- शिवलाल धिताल