अलौकिक सन्त महावतार

यो जगत् द्वैधतापूर्ण छ। यो विश्वमा सन्तहरू पनि छन, दुष्टहरू पनि छन्। सन्त सबैमा इश्वरको अंश देख्छन र सेवा नै परम धर्म मान्दछन। तर दुष्टहरू आफ्नो स्वार्थका लागि समाज र देशलाई मात्र नभई विश्वलाई नै तहस नहस गर्न पछि पर्दैनन्। त्यसकारण दुष्टहरूको निवास जाहाँ हुन्छ त्यहाँको वातावरण अशान्तिपूर्ण हुन्छ। व्यक्तिगत र पारीवारिक स्वार्थका लागि मात्र नभई राष्ट्रवाद र धर्मका को नाममा विश्वमा घृणा, द्वेष तथा आतंकवाद फैलिरहेको छ। तर यस्तै मा कतिपय सन्तहरू समाजमा प्रेम र शान्ति फैलाउन अहोरात्र कृयाशील छन्। सन्त ती हुन् जसले आत्मा र परमात्माको साक्षात्कार गरेका छन्। प्रत्येक जीवनमा परमात्माको उपस्थितिको अनुभूति जसले गर्छन् ती नै सन्त हुन्।

सिद्ध स्थितिमा पुगेका सन्तहरू महासमाधि पछि जन्म लिन बाध्य हुदैँनन्। तर उनीहरूले चाहेमा वा इश्वरको इच्छानुसार प्राणीहरूको कल्याणका लागि जन्मन सक्छन। यसरी जन्मिएका सन्तलाई अवतार भनिन्छ। यसरी पूर्ण परब्रह्म परमात्मा लोक कल्याण वा कुनै निश्चित उद्देश्यका लागि आफै अवतरण पनि हुन सक्छन। त्यस्ता अवतारलाई पूर्ण अवतार भनिन्छ।

नृसिंह अवतार, वामन अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध अवतार आदि पूर्ण अवतार हुन् भने सिद्धत्व प्राप्त गरी परमात्माको इच्छाले अवतार लिएकाहरू मध्ये महावतार बाबाजी आदि शंकराचार्य, रामानुजाचार्य, मध्वाचार्य निम्बार्काचार्य, रामकृष्ण परमहंस, परमहंस योगानन्द आदि हुन।अवतार निश्चित कार्यका लागि पृथ्वीमा अवतरण हुने र सो कार्य सम्पन्न भएपछि आफ्नो स्वधाममा र्फकने भएकाले अवतारको अवधि पनि लामो हुँदैन। यस पृथ्वीमा अवतरण हुने अवतारहरूलाई आवश्यक सहयोग पुर्‍याउन, यस जगतमा आउने आपत विपतलाईर्र् इश्वरीय विधान अनुसार प्रभावहिन तुल्याउने, प्राणीहरूको कल्याण गर्ने हेतुले सयाँै वा हजारौं’ वर्ष सम्म पार्थीव देह धारण गरी राख्नका लागि इश्वरको अवतार भएको मानिन्छ। जसको नाम महावतार बाबाजी हो। बाबाजीमा अष्ट सिद्धि रहेको र इच्छा मृत्युको शक्तिः रहेको छ भनिएको छ। बाबाजी हाल पनि सशरीर विद्यमान भए पनि सांस्ाारिक दृष्य वा परिपंचबाट बाहिर रहेका छन्। तर उनले समय समयमा आफ्नो भक्तहरूलाई दर्शन दिने गरेको घटनाहरू छन् र ती भक्तहरू मध्ये कतिपय हाल पनि जीवित छन्। बाबाजीले आठौं शताब्दीका आदि शंकराचार्य लगायत प्रसिद्ध सन्त कवीरलाई पनि दीक्षा उल्लेख गरिएका छन्। उनलाई मानवले गर्ने सामान्य प्रकृयाहरू जस्तै खाने, लगाउने, सुत्ने, दिसा, पिसाब गर्ने, हिंडडुल गर्ने जस्ता कार्यहरू गर्न आवश्यक छैन र संकल्प शक्तिबाट सबै कुरा हुन्छ भनिएको छ।

महाअवतार बाबाजीको अस्तित्वको बारेमा पहिलो पटक प्रकाश पार्ने व्यक्ति विश्व विख्यात सन्त परमहंस योगानन्द हुन। महावतार बाबाजीको सन् १९२० मा सशरीर दर्शनपाई आवश्यक निर्देशन पनि पाएका योगानन्दको सन् १९४६ मा प्रकाशित  (योगीको आत्म कथा ) नामक पुस्तकमा बाबाजीको तस्वीर र रोचक, रोमांचक, अद्भूत र लीलात्मक प्रसंगहरू उल्लेख भएका छन्। बाबाजीको बारेमा धेरै पुस्तकहरूमध्ये सर्वाधिक चर्चामा आएका पुस्तक योगीको आत्म कथा हो। यो पुस्तक नेपाली लगायत ३२ भाषामा अनुवाद भै सकेको छ र करीब १० लाख भन्दा बढी पुस्तक विक्री भै सकेको बताइन्छ। बाबाजीको जन्म स्थान, जन्म मिति, माता पिता आदिको आधिकारिक जानकारी छैन। तर उनको जन्म भारतमा भएको र हाल वद्रीनाथ मन्दिरको वरिपरिको गुफामा साधनारत रहेको बताइन्छ। उनको उमेरका सम्बन्धमा १३ सय वर्ष देखि ५२ सय वर्षसम्म हुन सक्ने भनाई छ। उनले कलियुग भरी वर्तमान शरीर नत्याग्ने बताएका छन्। उनले भनेका छन् कि उनी सशरीर विद्यमान रहेको जानकारी दिन समय समयमा भक्तहरूलाई दर्शन दिने गर्दछन्।

सन् १९२० पछि पनि विभिन्न भक्तहरूलाई दर्शन दिएको घटना प्रकाशमा आएका छन्। बाबाजीको शरीर देख्दा करीब २५ वर्षको देखिन्छ, तै पनि उनले विभिन्न रुप धारण गर्न सक्छन् र विश्वको जुनसुकै भागमा जुनसुकै वेला प्रकट हुन सक्ने क्षमता राख्छन। बाबाजीले सामान्यत हिन्दी भाषा बोल्ने भएतापनि विश्वको जुनसुकै भाषा बुझन सक्छन र बोल्न सक्छन। यति मात्र नभई पशुपंक्षीको भाषा पनि बुझदछन। बाबाजीले संकल्प शक्तिबाट कुनै पनि वस्तु उत्पत्ति गर्ने र विघटन गर्ने शक्ति राख्छन। बाबाजीमा वाक सिद्धि छ र उनले बोलेका कुरा अकाट्य हुन्छन र ती कुरा घटित हुन्छन। उनले मृत व्यक्तिलाई पनि जीवित तुल्याएको घटनाहरू पुस्तकहरूमा उल्लेख छ।

पाइलट बाबा द्वारा लिखित हिमालय कह रहा है भन्ने पुस्तकमा बाबाजीको बारेमा धेरै चर्चा छ र पाइलट बाबाले आफैले भेटेको कुरा उल्लेख छ। पाइलट बाबा हाल स-शरीर विद्यमान छन् र उनको एउटा आश्रम काठमाडौंमा पनि छ। बाबाका अनुसार महावतार बाबा महाभारतका पात्र कृपाचार्य नै हुन। कृपाचार्य चिरञ्ंजीवी भएकोले महावतार बाबा पनि चिरंञ्जीवी हुन सक्ने वताइएको छ। महावतार बाबालाई उनको इच्छा बेगर कसैले चिन्न सक्दैन र उनी बस्ने गुफा पनि पत्ता लगाउन सक्दैन भनिन्छ।

त्यसो भए प्रश्न के उठ्न सक्छ भने महावतार बाबाजी को अवतार लिनुको कारण के हो – योगी कथामृत, हिमालय कह रहा है, मार्शल गोविन्दको पुस्तक बाबाजी को अनुसार बाबाजीको वर्तमान अवतारको मुख्य उद्देश्य भनेको विश्वमा क्रियायोग को पुनरुत्थान गरी मानव मात्रको आध्यात्मिक विकास र चेतना फैलाउनु रहेको छ। यस्तैगरी मानव मात्रमा दया, करुणा, प्रेम, फैलाई घृणा, द्वेष, हत्या, हिंसा जस्ता कुप्रवृत्तिहरूलाई हटाउनु रहेको छ। आफू समाजमा प्रत्यक्ष रुपमा उपस्थित भई कार्य नगर्ने भएकाले उनले सर्वप्रथम वनारसमा लाहिडि महाशयलाई क्रियायोगको दीक्षा दिएर यसको प्रचार गर्ने जिम्मा दिए। लाहिडी महाशय प्रख्यात सन्त भए र उनले सयौं भक्तहरूलाई क्रियायोगको दीक्षा दिए। उनको सन्तानहरू हाल पनि वनारसमा छन् र दीक्षा दिने क्रम भइरहेको छ। विश्वमा क्रियायोग फैलाउने काम परमहंस योगानन्दले गरे। बाबाजीको आदेश अनुसार नै उनी सन् १९२० मा अमेरिका प्रस्थान गरे। त्यहाँ आयोजित विश्व धार्मिक सभालाई संवोधन गरे। त्यस पछि उनलाई विश्वविद्यालय कलेज, प्रतिष्ठानहरूबाट प्रवचनको निम्तो आयो। उनले योग र हिन्दु दर्शनको व्याख्या गरे।

उनले क्यालिफोर्र्नियामा सेल्फ रियलाइजेशन फेलोशिप नामक संस्था स्थापना गरे। हाल यो संस्थान विश्वका ६० भन्दा बढी देशमा फैलिएको छ। त्यस्तै गरी उनले भारतको राँची शहरमा योगदा सत्संग सोसाइटी को स्थापना सन् १९१७ मा गरे। यो सोसाइटी अन्तगतको ध्यान केन्द्र नेपालको काठमाडौं र पोखरामा पनि संचालनमा रहेको छ। क्रियायोग एक ध्यान प्रणाली हो। यसले हामीमा रहेको ऊर्जालाइ जागृत गराउँछ र छिटो छिटो आध्यात्मिक विकास गर्छ। भनिन्छ यस योगद्वारा जन्म मरणको क्रमलाई छोट्याउँछ र मुक्ति प्राप्त हुन्छ।

- विष्णुप्रसाद श्रेष्ठ