अभिव्यक्ति स्वतन्त्रताको प्रतीक तीज

एउटा जमाना यस्तो थियो, जुन बेला कुनै पनि महिलाहरूले आफ्नो कुरा खुलस्त व्यक्त गर्न सक्दैन्थे। त्यस समाजमा पुरुषहरूकै बोलाबोला हुन्थ्यो। घर परिवारका सासूससुरा, श्रीमान् प्रति असन्तुष्टि यत्तिकै रहन्थ्यो। मनभरिका पीडालाई ओकल्न न समय मिल्थ्यो न त घरको कामको बोझले उनीहरूलाई फुर्सदै मिल्थ्यो। महिला हक, अधिकारको नाम निशाना नै थिएन। राजनैतिक व्यवस्थाको परिपाटी पनि त्यस्तै खालका थिए।

त्यतिबेला समाजमा विद्यमान चार्डपर्वहरूले यसको तारतम्य मिलाइ दिएको पाइन्छ। दशैं, तिहार, घर परिवारका सदस्यहरूलाई एकत्रित गर्ने पर्व हो। अन्य यस्ता चाडवाडका पनि आआफ्नै विशेषता छन्। आफूभन्दा मान्यवरसित आसिक थाप्न जानु र परिवारका सबै सदस्यलाई एकै ठाउँमा भेला गर्नु दशैंको विशेषता हो। त्यसरी नै दिदीभाइप्रति सद्भाव राखिराख्नु तिहारको मूल मर्म हो। यसमध्ये तीज पनि एक हो। यसले माइती र घरको सम्बन्धलाई बलियो बनाउँछ। यसले घरको दुःखेसो व्यक्त गर्ने परिपाटी मिलाउँछ। अविवाहितका लागि आफूले चिताएको पति प्राप्त गर्न सहयोग गराउँछ। एक धार्मिक विश्वास अनुसार पार्वतीले शिवलाई प्राप्त गर्न गरेको निराहार व्रत यसै दिनमा पूरा भएको कथा तीजमा छ। अहिले यो परिस्थिति फरक भइसकेतापनि जमानादेखि महिलाले घरका दुःख अभिव्यक्त गर्ने प्रतीकका रूपमा लिन सकिन्छ। रातो सारी, मीठो खाना र माइती गाउँको चाडको रूपमा यो पर्व प्रसिद्ध छ। पितृसत्तात्मक मुलुकमा नारी स्वतन्त्रता नभएको अवस्थामा स्वतन्त्रताको उपभोगलाई प्राचीन कालदेखि नै यथार्थपरक गीतमार्फत् पीडा व्यक्त गर्दै आएका तथ्य यस भित्र छन्।  वर्षा यामको एकोहोरो झरीमा काम गर्नुको बाध्यता शारीरिक रूपमा हातमुख जोर्र्नुसित छ भने माइत जानु, खानु, गीत गाउनु मानसिक प्रसन्नतामा छ। हिजोको काल र परिस्थिति जस्तो आजको छैन, नत आजको काल, परिस्थिति हिजाको जस्तो थियो। समयको मागअनुसार  मानिसहरूमा कैयौँगुना चेतनास्तर बृद्धि भइसकेको छ र आधुनिकतातिर लम्किरहेका छन्। सम्भ्रान्त परिवारमा महिला मात्र होइन, असम्पन्न परिवारको समेत तीज साझा पर्व हो। तर आजभोलि सम्पन्न परिवारले होटल, रेस्टुरेन्टमा गएर यसको मौलिकपन नै बिगारिसकेका छन्। विभिन्न यन्त्र, उपकरणहरू विकासका साथसाथै नौलोपन समाजमा भित्र्याइरहेका छन्। आजको सन्दर्भ यही यन्त्रको विकास सँगसँगै मौलिक सँस्कृति विकृतिमा रूपान्तरित छ।

प्रसङ्ग यही हरितालिका तीज र दरको हो। तीजलाई घरको बुहातन, पीडालाई माइतीमा गएर मनोरञ्जनात्मक शैलीमा व्यक्त गर्ने चाडबाड हो भन्दा पनि फरक परोइन। दर तीजको अघिल्लो दिनमा खाइने गरिन्छ, भोलिपल्ट दुःखित मन हल्का गरिन्छ। तर आजको अवस्था यो छैन। तीज  आउने एक महिना अघिदेखि नै दरको नाममा भोज खुवाउने संस्कारको विकास भएको छ। आधुनिकताका नाममा आफै घर बुहारी जस्तो गरेर नारीको चाडमा पुरुषहरूको हालीमुहाली छ। अझ तीजको दर खान श्रीमतीसँगै ससुराली जाने समेत परम्परा बसिसकेको छ। मौलिक तीजले आफ्नो बाटो बिराएको अवस्था छ।

धार्मिक मान्यता अनुसार भगवान् शिवजीलाई पार्वतीले स्वामी पाऊँ भनेर भाद्र शुक्ल पक्ष तृतीयाका दिन व्रत बस्दा आफ्नो मनोकांक्षा पूरा भएको हुँदा यो चाड त्यसै दिनबाट मनाउन सुरु गरिएको हो। तीज प्रेम प्रसङगसित गाँसिएको छ। हालका दिनहरूमा विवाहित पत्नीहरूले आफ्नो पतिको दीर्घायु र सुदृढ सम्बन्ध बिस्तारका लागि यो पर्व मनाइने गरिन्छ। वैवाहिक सुख, दम्पत्ति, केटाकेटी र आफ्नै शरीर र आत्म शुद्धिका लागि यो पर्वले विशेष महत्त्व राख्दछ। अविवाहित महिलाहरूले असल पति पाउन मनाउने परम्परा छ। यो पर्व पहिले पहिले बाहुन क्षेत्री वर्गमा मात्र सीमित थियो भने हालका दिनमा गुरुङ, मगर, राई, नेवार लगायत अन्य जातिले पनि व्रत बस्ने र पर्व मनाउने गरेको देखिन्छ।

पौराणिक कालमा प्रेम प्रसङ्गको घटनालाई लिएर यो तीज मनाउने क्रम सुरु भएको हो। किम्बदन्ती अनुसार पार्वतीका पिताले भगवान विष्णुलाई कन्यादान दिने पक्कापक्की भयो। तर कन्या पार्वतीले भने विष्णुलाई मन पराइनन्। पार्वतीले आफ्नो इच्छा विपरीत विहे हुन लागेको कुरो साथीहरूलाई सुनाइन्। तत्काल साथीहरूले उनलाई हरण गरेर एकान्तमा रहेको हिमालय पर्वतमा पुर्‍याए र त्यही आफूलाई मन परेको शिवजीलाई पतिको रूपमा पाउन तपस्या गरेर बसिन्। अन्ततः कालक्रममा उनको अभिष्ट इच्छा पूरा भयो। त्यो व्रत बसेको दिन भाद्र शुक्ल पक्षको तृतीया तिथिको दिन थियो। यसै दिनदेखि नारीले आफ्नो अभिष्ट इच्छा पूरा गराउन यो तीज मनाउन थालेका हुन् भन्ने पौराणिक मान्यता छ। हालको अविवाहित नारीहरूले यसरी नै इच्छाइएको केटासित विहे हुनसक्ला भन्ने आशिक या पूरै सत्यतालाई अँगालेको पाइन्छ।         परम्परागत रूपमा नाचगान, रातो वस्त्रमा सजिनु तीजका विशेषता हुन्। यो पर्व तीन दिनको हुन्छ। पहिलो दिनमा दर खाने, नाचगान गरेर रमाइलो गर्ने, दोस्रो दिन, उपवास बस्ने र तेस्रो दिन (ऋषिपञ्चमी) पूजाआजा गरेर यसलाई समापन गर्ने चलन छ। दर खाने दिनलाई तीजको पहिलो दिनको रूपमा मानिन्छ। यस दिनमा आफ्नाआफ्ना घरबाट माइत आएका चेलीबेटीहरू एक ठाउँमा भेला हुन्छन् र नाचगान गर्छन्। विशेष मिठो मसिनो खाना खाने गर्दछन्। दर खाएको खानालाई दहृ्रो खानाको रूपमा पनि चिनिन्छ। यसैलाई दर भन्ने गरिन्छ। मिठाइ, फलफूल, खीर वा लट्टे, सेलरोटी आदि खाइन्छ भने कतै विभिन्न मासुका परिकार पनि बनाएर खाने चलन छ। भोलिपल्ट नखाइकन बस्ने हुँदा धेरै नै मात्रामा बेलुकी राति नै खाने गरिन्छ।

ऋषि पञ्चमीको दिनमा महिलाहरूले सप्तऋषिको पूजा गर्ने गर्दछन्। यस दिनमा पूजा गर्नाले महिनावारी भएका महिलाहरूको पाप पखालिन्छ भन्ने विश्वास छ। ३६५ ओटा दतिवनका टुक्रा चपाएर नुहाउने गरिन्छ।  ऋषिपञ्चमी दतिवनको प्रयोग गरेमा एक वर्षसम्म संकट, विघ्नबाधा झेल्नु नपर्ने र यसको डाँठले दाँत माझेमा दाँत सफा र वाकसिद्धि हुने उल्लेख छ। यो बाहेक यसका थुप्रै आयुवेदीय गुण छन्।

आजभोलि तीज मनाउने क्रममा थुप्रै विकृति छरपस्ट भइसकेका छन्। शहरबजारमा प्रयोग हुनसक्ने सम्मका सञ्चार माध्यमका शैली अपनाएर होडबाजीका साथ पार्टीप्यालेसमा खाना (दर) परिकारहरू नै फरक स्वादका तामसी र तमोगुणी प्रधान राखिन्छ। महँगा सारी र नाक, कान, घाँटीमा गहनाका प्रदर्शन त्यत्तिकै छ। टेलिभिजन, रेडियो र पत्रपत्रिकामा तीज आउनु पूर्व नै विज्ञापन र समाचारले पृष्ठहरू भरिएका देखिन्छन्। तीज मूलतः महिलाहरूको चाड हो भन्ने जान्दाजान्दै पनि पुरुषको सहभागिता र नाचगान समेत देखिन थालेका छन्। मनोरञ्जन बेग्लै प्रकारका देखिएका छन्। कतिपय गाउँपालिका, नगपालिकाहरूमा वडाबाट बजेट लिएर प्रतियोगिता गराउनेसम्मको कार्य भइरहेका छन्। तीजको साँस्कृतिक अभ्यास विगतदेखि वर्तमानसम्म उस्तै छ। तीजमा गाइने गीतहरू समाजशास्त्रीय दृष्टिकोणबाट महत्त्वपूर्ण सामग्री रूपमा लिन सकिन्छ। तर शास्त्रीय मान्यता अनुसार यसलाई परिमार्जन गरी अनुसरण गर्नु जरुरी भइसकेको छ।

- कल्याण पन्त