अबको परिवार ‘हामी दुर्इ, हाम्रा दुर्इ’

नेपाली समाजमा जसरी धेरै छोराछोरी पाउने दम्पत्ति घट्दै गइरहेका छन् त्यसरी नै छोरा पाउन लालायित दम्पत्तिको सङ्ख्या भने बढ्दै गइरहेका छन्। असुरक्षित गर्भको नाममा भू्रण पहिचान गरी बालिकालाई जन्मपूर्व नै पाखा लगाउने प्रवृत्तिले गर्दा परिवार छोरी विहीन हुने अवस्थाका साथै भावी परिवार निर्माण प्रक्रिया नै धरापमा पर्ने सुनिश्चित भएको छ। भू्रणहत्याले कानूनी मान्यता पाएपछि असुरक्षित गर्भको नाममा बालिका बध हुने क्रम बढ्दा सामाजिक सन्तुलन नै ब्रि्रने अवस्थामा पुगेको छ।

अब नेपाली मानवशास्त्रीहरूको चिन्तामाथि घोत्लिंदा बारबार प्रश्न उठ्ने गर्छ ‘किन बढ्दै छ त बालिका बध -’ पहिलो कुरा त महिला प्रति हेर्ने हाम्रो दृष्टिकोण नै गलत छ। महिला भएर जन्मनु सृष्टिको दोष नभई दृष्टिको दोष हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौं। दोस्रो कुरा हाम्रो सामाजिक मनोविज्ञान नै छोरा जन्माएमा पुरुषार्थी ठहर्ने र आफ्नो सम्पत्तिमाथि परचक्रीको रजाइँ नहुने भन्ने गलत मानसिकताका कारण महिलाको अवमूल्यन हुने गरेको तथ्यलाई नकार्न मिल्दैन। तेस्रो कुरा, छोरीमा मात्र चित्त बुझाउन खोज्दा दम्पत्तिका बीच नै कालान्तरमा निरन्तर आपसी विवाद हुन सक्ने भएकाले पनि उनीहरू छोरा जन्माउन चाहन्छन्। चौथो कुरा, आफ्नो छोराले भोलि आफ्नो वंश धानोस् र आफ्नो लाशमा दागबत्ती बालोस् र स्र्वर्गको यात्रा सहज तुल्याइदियोस् भन्ने सोचका कारण पनि बालिका नजन्मदै हिंसाको शिकार बन्न पुग्छन्। पाँचौं कुरा, भु्रण हत्या गर्ने र गराउने बीचको मिलेमतोमा बालक भन्दा बालिकाको जन्मदर दिनहुँ घट्दो छ।

जबसम्म छोरीलाई घरकी लक्ष्मी मान्ने वास्तविक सोच र धारणाको निर्माण प्रत्येक घर परिवारमा गर्न सकिंदैन तबसम्म छोरीको जन्मलाई पारिवारिक भारको रूपमा लिने क्रमको अन्त हुने छैन। केही दिन अघि सुर्खेतमा छोरी मात्र जन्माएर खुशी हुने र सन्तुष्ट हुने १८ जोडा दम्पत्तिलाई सम्मान गरे जस्तै छोराको मोह त्याग्ने दम्पत्तिलाई सामाजिक रूपमा सम्मान गर्ने र उनीहरूलाई आदर्श दम्पत्तिको रूपमा परिचित गराउने जस्ता उदाहरणीय कार्य गराउनु जरुरी छ।

नेपाली समाज पुरुषवादी समाज हो र यहाँ पुरुषको हैकम चलिरहन्छ। छोरी पाउने बुहारी वा छोरीलाई सम्मान भन्दा अपमान बढी दिइन्छ। घर परिवार, आफन्त, साथीसँगीको पनि छोरा नभएका महिलालाई हेर्ने दृष्टिकोण नै अलग हुन्छ। अझ सम्पत्तिको हकको उपभोग गर्ने सवाल आयो भने त ‘त्यसका त छोरा नै छैनन्, त्यसलाई किन चाहियो लालपूर्जा र सम्पत्ति ?’ भन्न बेर मान्दैनन्। परिवार र समाजमा यस्तो विभेदपूर्ण सामाजिक सोच र व्यवहार देखेका कुनै विद्यालय पढ्ने उमेरका बालिका पनि भविष्यमा आफू छोरी भएर जन्मनु नपरोस् भनेर प्रार्थना गर्दछन्। जीवनभर पुरुषबाट प्रताडित महिला पनि ‘अर्को जुनी पाए आफू पुरुष भएर जन्मन पाऊँ’ भनी महिलाको जुनीको अबमूल्यन गर्छन्।

नारी जीवनको सौर्न्दर्य नबुझेका, बुझ्न नचाहने र बुझे पनि बुझ पचाउने व्यक्तिहरूका कारण बालिका बनेर जन्मन नपाउँदै भू्रण हत्याको शिकार बन्न पुग्छन्। उनीहरूको जन्मने अधिकारको समेत हनन भएको अवस्थामा अन्य अधिकार कसरी प्राप्त गर्ने क्रममा व्यवधानहरू त केही समय पूर्व सम्पन्न स्थानीय तहको निर्वाचनमा बाध्य भएर गाउँपालिका वा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा एक जना महिला हुनै पर्ने संविधानको बाध्यकारी व्यवस्थाका कारण धेरै जसो उपप्रमुख पदमा स्वीकारेका राजनीतिक दलका नेतृत्व पङ्क्ति महिला मैत्री नभएको कारण आधा आकाश ढाक्ने महिलाको प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्वका लागि पहिलो चरणको प्रत्यक्ष तर्फ पाँच प्रतिशतको हाराहारीमा खुम्च्याइएको घटना सेलाउन नपाउँदै दोस्रो चरणको मंसिर १६ गते बुधबारको उम्मेदवारी मनोनयमा पनि त्यति उत्साहपूर्ण महिला सहभागिता गराउन नसक्नु पुरुषकेन्द्रित सर्वसत्तावादी सोचको उपज हो भन्दा फरक नपर्ला।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/०७३ मा १ हजार सात सय ४ जना बालक जन्मेका छन् भने १ हजार ४ सय १८ बालिका जन्मेका छन्। यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको तथ्यांकअनुसार पनि बालिकाको जन्मदर भन्दा बालकको जन्मदर बढी छ। जसमा एक हजार ८ सय ८९ बालक जन्मेका छन भने एक हजार ७ सय ४० जना बालिका जन्मेका छन्। तथ्यांकलाई विश्लेषण गर्दा भू्रण हत्याका कारण बालक भन्दा बालिकाको जन्मदर घट्दो देखिन्छ। गर्भमै सन्तानको पहिचान गरी छोरीको हत्या बढेपछि बालक भन्दा बालिकाको जन्मदर घट्दै गएको तथ्य सामान्यतयाः १०० बालकको जन्म हुँदा १०६ बालिका जन्मनुपर्नेमा भक्तपुरको एक नगरपालिकाको एउटा वडामा गरिएको सर्वेक्षणमा ४६ ओटा सुत्केरीका घटनामा १६ बालिकाको जन्म भएको पाइएको छ।

केही समय अघिको यो तथ्याङ्कले के संकेत गर्दछ भने यही पाराले बालिकाको जन्मदर घट्ने हो भने नेपाली समाज असन्तुलित र अव्यवस्थित समाजको रूपमा परिणत हुनेछ। यता भू्रण हत्याले एकातिर महिलाको स्वास्थ्य अवस्था ब्रि्रँदै जाने र अकोर्तिर छोराहरूको संख्या मात्रै बढ्दा त्यसले नेपाली समाज भयावह अवस्थामा पुग्न सक्ने अवस्थाप्रति सन्तानको नाममा छोरा मात्र जन्माउन चाहने दम्पत्तिले विचार गर्नु जरुरी छ। तर विडम्वना शिक्षित र सभ्य मानिएका व्यक्तिबाट नै गर्भपतन गराउने प्रवृत्ति वृद्धि भएकोमा यसलाई कसरी चिर्ने र सम्भावित भयावह स्थितिबाट मुलुकलाई जोगाउनु छ।

समाजमा छोरी जन्मेकै कारण अझै पनि आमा अपहेलित हुनुपर्ने अवस्था भएकाले छोरीको जन्मदर घट्दै गइरहेको हुनाले छोरी जन्माउने आमालाई सम्मान गर्दै छोरा मात्र जन्माउँदा बुहारी कहाँबाट ल्याउँछौँ भन्ने ज्ञान अभिभावकलाई दिनसके छोरीको जन्मदर बढ्न सक्नेछ। साथसाथै छोरी मात्र जन्माएर बसेका समाजका अभिभावकलाई सम्मान गर्ने परिपाटी सरकारीस्तरबाटै हुनुपर्छ। त्यसो हुनसके छोरी जन्माउने आमा अपहेलित हुने क्रम बन्द हुन सक्छ।

बालिका बधबाट समाजलाई मुक्त बनाउन चिकित्सक नैतिक जिम्मेवार हुन नसक्दा लि· पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ। कानूनले लि· पहिचान गरी गर्भपतन गराउने कार्यलाई पूर्णरूपमा दण्डित गरेको हुनाले त्यस्ता घटना प्रहरीसमक्ष जानकारी गराउन नागरिक समाज सचेत हुन जरुरी छ। छोरी जन्माउने, उनलाई शिक्षा दीक्षा दिने, अनि तिनको विवाह गर्न धेरै कठिन हुने र केही कारणवश उनको घरजम ब्रि्रेमा परिवारमा सदा चिन्ता र तनाव हुने जस्ता विविध सामाजिक परम्परासँग जेलिएको समस्या भएकाले एकै पटक समाधान नहुने बताउँदै यसको न्यूनीकरणका लागि सामाजिक जनचेतना सँगसँगै कानूनी प्रावधानका बारेमा जानकारी गराउँदै लानुपर्ने देखिन्छ।

जबसम्म छोरा र छोरी समान हुन् भन्ने सामाजिक मनोविज्ञान स्थापित हुन सक्दैन, प्रत्येक परिवारमा नयाँ दम्पत्तिहरूले छोरीको जन्मलाई निषेध गर्ने वा भ्रूण पहिचान गरी हत्या गर्ने उपक्रम दोहोरिइरहने छन्। यसरी बालिका बध हुने उपक्रम दोहोरिइरहँदा समाजमा छोरीको सङ्ख्या कम भई भोलि छोराको वंश धान्न भित्र्याइने बुहारी नै खोज्दा नपाउने अवस्था आउने खतराबाट सचेत गराउन टोलटोलमा ‘हे नारी हो, सबैले छोरा मात्र जन्माए कहाँ पाइन्छ बुहारी -’ जस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ।

सबै नवदम्पत्ति र प्रजनन क्षमता भएका दम्पत्तिहरूलाई जनसङ्ख्याको सन्तुलन मिलाउन र लैङ्गिक अनुपातमा बालक र बालिकाको सन्तुलन कायम गर्न सन्तान जन्माउन प्रोत्साहन गरी राज्यले ती दम्पत्तिहरूलाई उचित सुविधाका साथै त्यसरी जन्मने बालिकाहरूलाई राज्यले विशेष लगानीका साथ भविष्यको लागि तयार गर्न आवश्यक पर्दछ।

हाम्रो समाजमा आफ्नो छोराको लागि उपयुक्त बधु नपाएमा बेला बेलामा बाबुआमाले यस्तो भन्ने गरेको सुनेकै होः ‘कसैले छोरी नदिए मेरो छोरो राँडै बस्ला, फाँडै खाला’। पहिले त बाबुआमाले झोंक चलेका कारण यस्तो भन्ने गर्ने तर अब त एउटा दुर्इटा परिवारका लक्का जवान छोरा मात्र राँडै बस्न पर्ने होइन, टोल वा वस्तीका अनगिन्ती युवकहरु राँडै बस्ने अवस्था सिर्जना हुनेछ।

कुनै परिवारमा चामलमा बियाँ जस्तै झुक्किएर बचेका वा स्वाभिमानले बचाएका छोरी हुकन नपाउँदै ती युवाहरुको यौन हिंसाको शिकार बन्ने भयावह अवस्था निम्तिने छ। न त बाबुआमाले आफ्नी छोरी हुकाएर ससम्मान विवाह गरेर दिन पाउने दिन आउनेछन् न कसैले कुनै केटी संयोगवश आफ्नो पञ्जामा पार्‍यो भने सो केटीलाई भड्काउने वा ललाइफकाइ गरी लैजाने देखि आफ्नो अभिष्ट पूरा हुन नसके जवर्जस्ती करणी वा सामूहिक बलत्कारसमेत गरेका समाचार दिनहुँ जसो पढ्ने वा थाहा पाउने दिन आउन नदिन बेलैमा होशियारी अपनाउनु पर्छ। त्यसको लागि माथि उल्लेख गरिएका कार्यक्रमहरु सहित नवविवाहित दम्पत्तिलाई भविष्यको पारिवारिक जीवन खुशी र सन्तुष्ट पार्न हामी दुर्इ, हाम्रा दुर्इ सम्बन्धी सचेतनामूलक कार्यक्रम चलाउनु पर्छ। उनीहरुलाई जसरी आफ्नो छोराको खुशी अरुकी छोरी हुन् भने आफ्नी छोरीको खुशी पनि अर्काको छोरा हुन् भन्ने तथ्यलाई राम्ररी मनन गराउन पर्दछ।

एक दम्पत्तिको अर्को दम्पत्तिसँगको सम्बन्धमा नै परिवारको निर्माण र राष्ट्रको शान्ति समृद्धि निहित हुन्छ। यसैबाट समाजमा सन्तुलन र राष्ट्रमा शान्ति कायम गर्न सकिन्छ। हाम्रो समाजलाई सुन्दर र सन्तुलित समाज बनाउन जनसंख्या सन्तुलनमा ‘हामी दुर्इ हाम्रा दुर्इ’ भन्ने मन्त्र जपी त्यसलाई व्यवहारमा रुपान्तरण गर्नु जरुरी छ। यसको लागि सामाजिक सचेतना फैलाउने कार्यमा राज्यले अहम् भूमिका खेल्न ढिलो भइसकेको हुँदा यता तर्फ राज्यको ध्यानाकर्षण गर्न सबैले आ-आफ्नो ठाउँबाट जे जस्तो योगदान पुर्‍याउन सकिन्छ, त्यो पुर्‍याउन आग्रह गर्दछु।

- रीता सुवेदी पौडेल