अफ्गानिस्तान र यहाँको द्वन्द्व

दश वर्षको द्वन्द्वले त्राहीमाम भएका हामीहरु दक्षिण एशियाकै देश अफ्गानिस्तानमा अनन्तकालदेखि चल्दै आएको द्वन्द्व, हत्या र प्रतिहत्याका घटनाहरु दिनहुँ घटिरहेको सुन्दा यहाँका बासिन्दाहरु कसरी दैनिकी चलाएका होलान् ? अफ्गानी जनताले शान्तिको सास फेर्न कहिले पाउलान् ? यी प्रश्न मनमा आइरहन्छ। मानवीय संवेदनाले सताइरहन्छ। पीडाबोध पनि भइरहन्छ।

गत हप्ता त्यहाँ आमचुनाव भयो। तर, यसै अवधिमा तालिवानले धेरै ठाउँमा हमला पनि गरे। सबैभन्दा भयानक बिस्फोटक हमला कन्दहार प्रान्तमा भयो। त्यहाँ सरकारका सुरक्षा प्रमुख र गभर्नर लगायत झण्डै एक सय जति हताहत र गम्भीर घाइते भएका छन्। कन्दहार प्रान्तमा त निर्वाचन हुन पनि सकेन।

अफ्गानीहरु पहिलदेेखि बडो लडाकु र उद्यमशीलका रुपमा चिनिन्छन्। भौगोलिक अवस्थितिले निकै महत्वपूर्ण पनि छ-यो देश। अफ्गानिस्तानको पश्चिममा इरान छ। इतिहासमा ‘पर्सिया’ को रुपमा विख्यात पर्सियन खाडीको तटवर्ती इरानको रणनीतिक महत्व विशेष व्याख्या गर्नै पर्दैन। पूर्व दक्षिणमा अवस्थित देश पास्िकतान हो। उत्तरमा उज्वेकिस्तान लगायत पूर्व सोभियत संघबाट अलग भएका मध्य शियाई मुस्लिम देशहरु छन्। यो मध्य एशिया अहिले चीनका राष्ट्रपति सी जिन पि·को रेशममार्गको स्वप्निल योजना कार्यान्वयनको थलो मानिएको छ। यी यावत तथ्यले के देखाउँछ भने अफ्गानिस्तान यद्यपि भू-परिवेष्ठित छ, तर रणनीतिक महत्व बढी नै छ।

स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरुले आफू अंग्रेजको जेलमा थुनिदा छोरी इन्दिरालाई लेखेका चिठीहरुको सँगोलो ‘विश्व इतिहासको झलक’ पुस्तकमा अफ्गानिस्तानको लामै चर्चा गरेका छन्। उन्नाइसौ शताब्दीमा पूर्वबाट बढेको रुसी साम्राज्य र पश्चिमबाट बढेको अंग्रेज साम्राज्य अफ्गानिस्तानमा भेट भए। तर, आपसमा भिड्ने काम गरेनन्। बरु यो अफ्गानिस्तानलाई मध्यवर्ती क्षेत्र ९द्यगााभच क्तबतभ० को रुपमा बीचमा छाडी दिए-स्वतन्त्र।

पुरानो कुरा गर्ने हो भने दक्षिण एशियामा अफ्गानीहरुले साम्राज्यको कीर्तिमान नै कायम गरेका हुन्। बाह्रौ शताब्दीमा एक अफ्गानी सरदार शाहबुद्धिन धुरीले विजय गर्दै दिल्लीसम्म आईपुगे। र, दिल्लीमा बडो एशश्वी तर भलाद्मी हिन्दू सम्राट पृथ्वीराज चौहानलाई परास्त मात्रै होइन , हत्या पनि गरे। त्यसपछि, केही उतार चढावका बाबजुद अफ्गानी मुस्लिमले भारतमा लामै काल शासन गरे। महम्मद गजनीको शासनकालको शासनकाल भारतीय इतिहासमा रोमाञ्चक तर क्षोभको रुपमा लिइन्छ। सोह्रौ शताब्दीमा भारतमा साम्राज्य कायम गर्ने बाबर अफगानी हुन्। मुगल साम्राज्यको रुमा परिचित बावर, उनका छोरा, नाति-पनातिको शासनकाल पनि रंगीन छ – राम्रो र नराम्रो। किनभने बाबरका नाति अकवरको संबन्धमा नेहरु लगायतका भारतीय इतिहासकार सकारात्मक छन्। अकवरले हिन्दू महिलासंग विवाह गरेका थिए। र, उनका नौ सल्लाहकार, जसलाई नवरत्न पनि भनिन्छ, मा हिन्दूहरु पनि थिए। यसमध्ये एक वीरवल पनि हुन्। अकवर र वीरवलका कथा त नेपालका पठित अपठित सबैलाई धेरै थोरै थाहा छ। केही साँचा होलान्, केही मिथक पनि।

मुगलसाम्राज्यका आखिरी सम्राट औरङगजेवको उद्दण्डताले यी अफगानीहरुको शासन पतन भएको हो। तर, यिनीहरुका शासनकालका अवशेषले अहिले पनि भारतलाई सताई रहेको छ। अयोध्यामा रहेको राममन्दिर भत्काएर वावरी मश्जिद बनाएकोले राममन्दिर त्यहाँ पुनस्थापित गर्ने भन्ने विवाद भारतमा ठूलो मुद्दा हो। आगामी सन् २०१८ मा हुने भारतीय चुनावको यो एक प्रमुख मुद्दा बनाउँदै छ- मोदीको पार्टीविजेपीले। अरु त छाडौं संसारका आर्श्चर्य मध्ये एक मानिएको ताजमहल पनि मुस्लिम साम्राज्यवादीको ‘चिनो’ (स्मारक) भनेर अहिलेको सरकारले उपेक्षा गरेको छ।

वर्तमान समस्यामा केन्द्रित हुन पर्ने लेख इतिहासतिर बहकियो। तर, विगतकै जगमा वर्तमानलाई हेर्र्नु पर्ने हुँदा यो अन्यथा हुने छैन। अरुको लागि, खास गरेर साम्राज्यवादीको शासकीय पीडा भोगेका भारतीयहरुलाई अभिशाप भए पनि अफगानीहरुले आफ्नो पुर्खाको वीरता भनेर गर्व गर्दछन्। यस्तो इतिहास भएका अपगानीहरुले अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले आफ्नो देशमा रजगज गर्दा सहलान् भनेर ठान्नु यथार्थता संग मेल नखाने कुरा हो।

वर्तमान समस्याको शुरुवात-अमेरिका र साविकको सोभियतसंघ (हालको रुस) बीच विश्व प्रभाव विस्तारको प्रतिश्पर्धाले सृजना गरेको हो। अमेरिकाको गुप्तचर संस्था सि.आई.ए. र रुसको के.जी.वी.ले यो शान्त देशलाई क्रीडास्थल बनाए। सन १९७० को शुरुमा रुसको गुप्तचर संस्थाले षड्यन्त्र गरेर राजाको सत्ता विप्लव गरायो। राजाकै बहिनी ज्वाई दाउदको नेतृत्वमा। त्यसपछि रुस -सोभियत संघ) समर्थक सरकारका विरुद्ध लड्न अमेरिकाले विनलादेनलाई भरपुर सहयोग गरेर तालिवान जन्मायो। तालिवान शासनमा आए, रुसीहरुलाई लखेटे तर शासनमा आए पछि अमेरिकाकै लागि पनि घातक भए। अमेरिकामा ठूलो आतङ्कित हमला भयो अमेरिकास्थित अन्तराष्ट्रिय व्यापार केन्द्रको प्रधान कार्यालय टि्वन टावर नै ध्वस्त पारे। यसपछि अमेरिका आफैले जन्माएको तालीवान शासन ध्वस्त गर्न अफ्गानिस्तानमा पसेको हो। अहिलेको मुख्य द्वन्द्व अमेरिका अफगानी तालिवान बीचको हो।

रुसको कम्युनिष्ट व्यवस्था पतन हुनुको एउटा कारण अफ्गानिस्तानमा प्रभाव कायम गर्न ठूलो लगानी गर्नाका कारणले हो। अमेरिकाको लागि पनि याहाँको लगानी अर्को भियतनाम सरह हुनेछ। त्यसैले, कहिल्यै नजितिने लर्डाई लडिरहेको छ अमेरिका। अझ अहिले तालिवान मैत्री सरकार आएको छ-पाकिस्तानमा।

दक्षिण एसियालाई पिरलेका समस्यामा अफ्गानिस्तान र कश्मीरको विषयमा भारत पाकिस्तान द्धन्द नै हुन्। दुवैको समाधान वार्ताद्वारा नगरी सुख छैन? ढिलो वा चाँडो।

जहाँसम्म अफगानिस्तानको कुरा छ-तालिवान एक जिम्मेवार राजनीतिक शक्तिको रुपमा रुपान्तरण हुनुपर्छ। अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सैनिक फिर्ता जानुपर्छ। यसको लागि अन्तराष्ट्रिय शक्ति र सरोकारवालाहरु अमेरिका, युरोपीयन युनियन, चीन, रुस र भारत तथा पाकिस्तानको बीच एउटा मान्यसहमतिका आधारमा अफ्गानी जनतालाई नै अफ्गानिस्तानको शासनसत्ता सुम्पने र शान्तिक्षेत्र कायम गरेमा दक्षिण एसियाको यो भू-भागका जनताले शान्तिको सास फेर्न पाउनेछन्।

अफ्गानिस्तानमा शान्ति र सुव्यवस्था आविर्भाव भयो भने कश्मीरको विवाद पनि वार्ताद्धारा समाधान हुनसक्छ। र, दक्षिण एसियाका देशरुबीचको मैत्री र शान्तिले यो क्षेत्रमा रहेको गरीबी, अशिक्षा र सबै किसिमका पछौटेपन समाप्त हुनेछ।

- तिलक पराजुली