अधिकमास

यस वर्ष जेठ २ गते (प्रतिपदा तिथि) देखि ३० गते (औंसी तिथि) सम्मको समयावधि अधिकमास रहेको छ, जुन चान्द्र महिनामा स्पष्ट सूर्य संक्रान्ति परेको देखिदैंन त्यसलाई  अधिकमास भनिन्छ। अधिकमास बारे ज्योतिषशास्त्र र धर्मग्रन्थमा धेरै परिचर्चा गरिएको पाइन्छ। अधिकमास संस्कृत शब्द हो। दुर्इ ओटा शब्दको संयोजन (अधिक र मास) बाट बनेको यो अधिकको अर्थ बढी र मास अर्थ महिना भन्ने बुझिन्छ। यसलाई बढी भएको महिनाको रुपमा लिइएको छ। यस वर्ष पञ्चांगमा दुर्इओटा जेठ महिना उल्लेख छ, एउटा शुद्ध जेठ र अर्को अधिक महिना। अधिकमास हरेक तेस्रो वर्षमा एक पटक आउछ। सजिलोसित बुझ्नको लागि ३ वर्षमा ३० दिन बढी हुन्छ। यो बढी भएको महिनालाई मिलान गर्न चान्द्रमाससित तालमेल गराएर फाल्ने गरिन्छ। तसर्थ यसलाई मलमासको रुपमा पनि चिनिन्छ, अर्थात् फोहोरमैलाको रुपमा।

प्रचलनमा आएका महिना -वैशाख, जेठ, असार आदिलाई  सौर महिना भनिन्छ। सौरको अर्थ सूर्य। हाम्रा कार्यालय, दैनिक जनजीवनमा यही महिना नै प्रयोग हुन्छ। १२ ओटा महिनाहरुमा वैशाख, जेठबाट प्रारम्भ भई चैत्र महिनामा टुङगिन्छ । चलनचल्तीमा आए नआएका महिना ४ प्रकारका छन् : सौरमास, चान्द्रमास, नाक्षत्रमास र सावनमास।

चान्द्रमास भन्नाले शुक्ल पक्षको प्रतिपदादेखि औंसीको अन्तिम कालसम्म वा कृष्ण पक्षको  प्रतिपदादेखि पूणिर्माको आखिरी कालसम्मको ३० दिनलाई चान्द्रमास भनिन्छ। यो चन्द्रमाले पृथ्वीलाई घुम्न लाग्ने समय चान्द्रमास हो। यो धार्मिक कार्यमा प्रयोगमा आउँछ।  नाक्षत्रमास भन्नाले जति दिनमा २७ नक्षत्रमा चन्द्रमा एक पटक फेरो मार्दछ, त्यत्ति नै समयलाई नाक्षत्रमास भनिन्छ। यसमा २७ दिनको एक महिना हुन्छ। नाक्षत्रमासको प्रयोग त्यत्ति गरिदैंन।  मेष संक्रान्ति (वैशाख १ गते) जुन नक्षत्र पर्दछ, त्यसै अनुसार महिनाको नाम राखिएको हुन्छ। त्यसरी नै वैशाख (मेष संक्रान्ति) का दिनदेखि ३०/३० दिनसम्म पुग्दा एक सावन मास हुन्छ। एक सूयोर्दय लिएर अर्को सूयोर्दय रहँदासम्मको काललाई सावन दिन भनिन्छ।

सूर्यले एक राशि पार गर्ने समयावधिलाई दिन र सूर्य एक राशिबाट अर्को राशिमा सर्ने अवधिलाई महिना (मास) भनिन्छ। यसलाई सरल भाषामा भन्दाखेरि प्रत्येक महिनाको १ गते कुनै राशिमा स्र्पर्श गरेको दिन संक्रान्ति हो। संक्रान्तिदेखि  महिनाको आखिरी दिनसम्मको घडीपला सौरमास हो। सौरमासको घटीबढी गर्दा कुनै महिना २९ को, कुनै ३०, कुनै ३१ र कुनै महिना ३२ दिनसम्मको हुन आउछ। दिनको घटबढ महिना हुनु सूर्यलाई पृथ्वीले परिक्रमा गर्ने गतिसँग सम्बन्धित छ। उदाहरणको लागि मंसिर, पुसताका पृथ्वीको परिभ्रमण चाल छिटो हुन्छ र थोरै दिन (२९ वा ३० दिन) मा एक राशिबाट अर्को राशिमा पार गर्न समय लगाउँछ। तर जेठ असार महिना भने पृथ्वीको चाल केही ढीलो हुने भएकोले एक राशिबाट अर्को राशिमा पार गर्न लाग्ने समय धेरै हुन्छ तसर्थ ३१/३२ दिनको महिना हुन्छ। सौरमासको गणना पृथ्वीले सूर्यसित परिभ्रमण गर्ने समय ३६५ दिन ६ घण्टा १२ मिनेट ३६ सेकेण्ड (३६५ दिन १५ घडी, ३१ पला, ३० विपला) लगाउछ। यस अवधिलाई सौरमान वा सौरवर्ष भनिन्छ। चन्द्रमाले पृथ्वीलाई परिभ्रमण गर्न भने ३५४ दिन, ८ घण्टा, ४८ मिनेट, ३३ सेकेण्ड (३५४ दिन २२ घडी, १ पला, २३ विपला) लगाउछ। यस अवधिलाई चान्द्रमान वा चान्द्रवर्ष भनिन्छ। चान्द्रवर्ष सौर वर्षभन्दा १० दिन २ घण्टा, १२ मिनेट, ३ सेकेण्ड कम छ। अझ यसलाई छोटकरीमा भन्दा सामान्यतया ३५४ दिनको चान्द्रवर्ष र ३६५ दिनको सौरवर्ष हुने हुनाले ११ दिन अगाडि नै चान्द्रवर्ष समाप्त हुन्छ। प्रत्येक अधिकमास (मलमास) वर्षमा ११ दिनको अन्तरले जब ३० दिनको अन्तर पर्दछ, तब त्यस वर्ष अधिकमास पर्दछ। एक अधिकमास पछि ३२ महिना १६ दिन ४ घडी  (१ घण्टा, ३६ मिनेट) अर्को अधिकमास आउँछ। अधिकमास परेको वर्ष १३ ओटा चान्द्रमहिना हुन्छन्। अधिकमास फागुन महिनादेखि कार्तिक महिनाभित्र पर्दछ। जुन चान्द्रमहिनामा दुर्इओटा संक्रान्ति पर्न जान्छन्। त्यस महिनालाई  क्षयमास भनिन्छ। क्षय भन्नाले नाश हुनु हो। क्षयमास परेको वर्षमा ११ चान्द्र महिनाहरु हुन्छन्। यही कारणले गर्दा १२ महिना हुनुपर्नेमा ११ ओटा मात्र महिना परेकोले एक महिना क्षय भएको मानिन्छ। यो कार्तिक, मंसिर, वा पुस महिना

पर्दछ। यसका साथसाथै एक चान्द्र महिनामा दुर्इ संक्रान्ति पर्ने सम्भावना ज्यादै कम हुने भएकोले १४१ या १९ वर्षपछि मात्र क्षयमास पर्न सक्छ।

संस्कृत नेपाली बृहत् शब्दकोशका अनुसार चन्द्रमासको घडीपला दिनहुँ  अलि अलि बढ्दै ३० देखि ३८ महिनाको बीचमा पर्न जाने महिना हो। जस्तो कि कुनै वर्षमा चैत्र कृष्ण औंसीको दिन वैशाख सक्रान्ति पर्न गएको र चैत्र शुक्ल प्रतिपदादेखि वैशाख कृष्ण औंसीसम्म एक महिना संक्रान्ति नभएको तर अर्को महिना वैशाख शुक्ल प्रतिपदामा जेठ संक्रान्ति पर्न जादा अघिल्लो महिना चैत्र शुक्ल र वैशाख कृष्णलाई अधिकमास भनिन्छ।

अधिक मास कुन महिना पर्दछ भन्ने पत्ता लगाउन सजिलो गणितीय विधि छ। यसका लागि शालिवाहनीय शक जान्नु आवश्यक हुन्छ। जस्तो कि २०७५ सालको अधिकमास थाह पाउनको लागि यस वर्षको शालिवाहनीय शकमा ९२५ घटाएर यसबाट निस्केको अंकलाई १९ ले भाग गर्दा शेष अंकको आधारमा पत्ता लगाउन सकिन्छ। यस अनुसार ३ शेष रहेमा चैत्र, ११ शेष रहेमा वैशाख, ८ शेष रहेमा जेठ, १६ शेष रहेमा असार, ५ शेष बचेमा साउन, १३ शेष रहेमा भदौ र अन्तमा २ शेष रहेमा असोज महिना वृद्धि हुन्छ। यस अनुसार २०७५ सालको अधिकमास पत्ता लगाउनको लागि शालिवाहनीय शक १९४० ( ९२५Ö १०१५/१९Ö ८ शेष। ८ शेष भएकोले यो वर्ष जेठमा अधिकमास परेको छ।  .

अधिक वा क्षयमासमा भरसक कुनै पनि शुभकार्य गरिदैंन। जस्तो कि विवाह, व्रतवन्ध, गृहनिर्माण, गृहप्रवेश, आदि गर्न नहुने धर्मशास्त्रमा उल्लेख छ। वि.स. २०६४ वैशाख ३० र ३१ गते पञ्चाङग निर्णायक समितिको आयोजनामा काठमाडौमा सम्पन्न गोष्ठीले निम्न कार्य गर्न हुने र नहुने निष्कर्ष निकालेको छ।

अधिकमासमा गर्न मिल्ने कर्महरुमा सन्ध्या, अग्निहोत्र, नित्यकर्म, ग्रहदान, ग्रहशान्ति, दशदान, वैतरणी, सर्वप्रायश्चित, मृताशौचसम्बन्धी कार्यहरु, पूर्व प्रारम्भ गरेका यथावत कर्महरु, मासिक श्राद्ध, मलमासभित्रै खण्डित भएका मूर्ति र मन्दिरादिको प्राणप्रतिष्ठा तथा जीर्णोर्द्धार, गर्भाधानदेखि अनन्यगतिक अन्नप्राशानान्त कर्म, ज्वरादिरोग शान्र्त्यर्थ जपपूजा, भगवद दर्शनादि उपचार पक्षसम्मका यावत कर्म, एकादशी आदि समस्त नित्य व्रतहरु, अमावस्यामा गर्दै आएका नित्य दानहरु, निशि बार्ने आदि हुन्।

अधिकमास (मलमास)मा गर्न नहुने कर्महरु यस प्रकार छन्ः नैमित्तिक र काम्यकर्महरु, नवीन गृहाराम्भ, व्रताराम्भ, व्रत समापन, एकोद्दष्टि श्राद्ध, उपाकर्म, अष्टका श्राद्ध, चूडाकर्म, व्रतबन्ध, विवाहादि मागंलिक कार्य। त्यसरी नै देवमूर्ति, मन्दिर निर्माण, नवीन कुवा, तलाउ, पोखरी खन्ने कार्य, नयाँ बगैंचा, चौतारा, धर्मशाला आदिको निर्माण तथा प्रवेशादि कर्म, नयाँ वस्त्र धारण, नवीन अलंकार, यर्ज्ञकर्म, पहिलो पटक तीथ यात्रा र देवदर्शन, आतुर सन्यास बाहेक सन्यास स्वीकार, वृषोर्त्र्सग, पवित्रारोपण, दमानारोपण, श्रवणकर्म, उत्सव कर्महरु, कन्या रजोदोष शान्ति, विवाहको पहिलो वर्षमा पतिपत्नी एकगृह वास।

अधिकमासलाई पुरुषोत्तम महिना पनि भनिन्छ । भगवान विष्णुको मनपर्ने यस महिनामा तमोगुणी भोज्य पदार्थ खान वर्जित गरिएको छ। यस महिनामा मुसुरोको दाल, भण्टा, लसुन, प्याज, गाजर, बन्दा, काउली, मह, मदिरा, मासु, धुम्रपान आदि खान निषेध छ। तर गहुँ, चामल, मूँग, केराउ, तिल, काँक्रो, केरा, इमली, ढिकेनून, अमला आदिले सात्विकता बढाउने हुँदा यी खानेकुरा खान हुन्छ भन्ने कुरा धर्मशास्त्र पाइन्छ।

समग्रमा भन्दा अधिकमास धार्मिक परम्परामा जोडिए पनि यो वैज्ञानिक र स्वास्थ्यवर्द्धक पनि छ, जानेर होस् या नजानेर। व्यवहारिक रुपमा कार्यालयमा सौरमास उपयोग भए पनि धार्मिक पर्वमा अधिकमासको प्रयोग अलिकति भने पनि झल्किएकै छ।

- कल्याण पन्त